जेठ २०, पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरियङ नियमावली एक महिनाका लागि स्थगित गर्ने भएको छ । प्रदेश सचिव एवम् वार्ता समितिका संयोजक इन्जिनियर कमलकुमार अधिकारीले पत्र जारी गरी तत्काललाई नियमावली स्थगन गर्ने निर्णय गरिएको जानकारी दिए ।
सरकार र यातायात व्यवसायीबीच सोमबार मध्यराति भएको सहमति कार्यान्वयन गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङ नियमावली स्थगित गर्न भन्दै पत्र पठाएको थियो ।
संघ सरकारको पत्रपछि मुख्यमन्त्री कार्यालयमा आजै साँझ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित सरोकार मन्त्रीहरू सहभागी बैठक बसेको थियो । बैठकपछि समिति संयोजक ई. अधिकारीद्वारा जारी विज्ञप्तिमा नियमावलीको उक्त प्रावधान हाललाई स्थगन गर्न अनुरोध भई आएपछि यस्तो निर्णय लिइएको बताएको छ ।
‘भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशबाट गठन भएको वार्ता समितिले सरोकारवाला पक्षलाई वार्ताका लागि पुनस् आह्वान गरी वार्ता सम्पन्न गर्न एक महिनाको अवधि तोक्ने र उल्लिखित अवधिभर गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ बमोजिमका राइड सेयरिङ सम्बन्धी प्रावधानको कार्यान्वयन गर्ने कार्य प्रक्रिया स्थगन गर्ने भनी निर्णय भएको व्यहोरा जानकारीका लागि सबैमा अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ ।