जेठ २०, काठमाडौँ । काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई छानबिनका लागि ६ महिना निलम्बन गरिएको जानकारी दिए ।
गुरागाईंले केही समय अघि नगरप्रहरी प्रमुख पाण्डेले आफूलाई मेयर बालेन्द्र (बालेन) शाहको मौखिक निर्देशनमा कार्यालय प्रवेश गर्न अवरोध गरेको भन्दै ६ बुँदे स्पष्टीकरण सोधेका थिए । नगर प्रहरी प्रमुख पाण्डेले उक्त स्पष्टीकरण जवाफ बुझाएका थिए । तर,उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको उनले बताए ।
महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले पाएको उनले जानकारी दिए । महानगर प्रहरी ऐन, २०८० अनुसार नगर प्रहरी महानगरको प्रमुख प्रशासकीय अधिकृत मातहत परिचालन हुने व्यवस्था छ ।