जेठ २१, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का नेपाल मिसन प्रमुख डा. सरावत जहानबीच भेटवार्ता भएको छ ।
बुधबार महासंघ सचिवालय टेकुमा भएको भेटवार्तामा आर्थिक वर्ष २०८२/८३ को बजेट, मौद्रिक नीति, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाल सरकारसँगको सहकार्यका विषयमा छलफल भएको हो ।
महासंघका अध्यक्ष ढकालले चालु आर्थिक वर्षको बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख चालक शक्तिको रूपमा प्राथमिकता दिएको बताए । उनले बजेटमा महासंघका सुझावहरू समेटिएको उल्लेख गर्दै कार्यान्वयनमा प्रभावकारिता आवश्यक रहेकोमा जोड दिए ।
उनले बजेटलाई सकारात्मक रुपमा लिएका भन्दै बजेटको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कार्यान्वयनमा इमानदार हुनुपर्ने बताए । अध्यक्ष ढकालले आर्थिक विकास र समृद्धिका लागि सुशासन र नीतिगत स्थायित्व सुनिश्चित गर्न महासंघले सरकारसंग पैरवी गर्दै आइरहेको धारणा पनि राखे ।
भेटमा डा. सरावत जहानले आर्थिक वर्ष २०८२/८३ को बजेटका सन्दर्भमा निजी क्षेत्रको धारणा र सरकारले बजेट मार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य, मौद्रिक नीतिमा निजी क्षेत्रको अपेक्षाका लगायत नेपालको समग्र अथतन्त्रका बारेमा जानकारी लिएका थिए ।
साथै उनले नेपाल सरकार र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबीचको सहकार्य तथा आइएमएफले सरकारसंग नयाँ सहकार्यका बारेमा छलफल गरिरहेको जानकारी दिए ।