रवीन्द्र मिश्र र धवल शमशेर सम्पर्कविहीन, जमानी बस्ने वकिललाई जरिवाना

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ २२, बिहिबार (१ दिन अघि)
  • ७३ पटक पढिएको
रवीन्द्र मिश्र र धवल शमशेर सम्पर्कविहीन, जमानी बस्ने वकिललाई जरिवाना

जेठ २२, काठमाडौं । तीनकुने घटनाको अनुसन्धानका क्रममा हाजिर जमानीमा छाडिएका प्रतिवादीहरू धवल शमशेर राणा र रवीन्द्र मिश्र सम्पर्कविहीन भएपछि जमानी बस्ने व्यक्तिहरूलाई प्रहरीले जरिवाना तिराएको छ ।

अधिवक्ता श्यामबहादुर शाही, बसन्त ब्लोन र उमेश सिंह विष्ट रिहा गर्दा जमानीमा बसेका उनीहरुलाई जनही २५ हजार रुपैयाँका दरले जरिवाना गरिएको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद एवम् पार्टीका महामन्त्री धवलशमशेर राणा अनुसन्धान नसकिँदै प्रहरीले खोजेको बखत उपस्थित हुने शर्तमा रिहा भएपनि प्रहरीले बोलाउँदा र पत्राचार गर्दा पनि उपस्थित नभएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुको जिम्मा जमानीमा बस्ने व्यक्तिलाई नै जरिवाना गरेको हो ।

उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौँमा राजद्रोह, आपराधिक उपद्रव र सङ्गठित अपराध समेतको कसूरमा अनुसन्धानको क्रममा हिरासतमा राखेर अनुसन्धान भइरहँदा धवलशेमशेरलाई उपचारका लागि भारत जानु पर्ने भएका कारण रिहा गरिएको थियो । मिश्र भने पछि बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए ।

राणालाई औषधि उपचार गर्ने प्रयोजनका लागि जिल्ला सरकारी वकिल कार्यालयबाट सहमति लिएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को उपदफा (२) बमोजिमको कागज गराइ उमेश सिंह विष्टको साथमा २०८२ जेठ १ गते जिम्मा लगाएर पठाइएको थियो ।

अर्का प्रतिवादी रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा भएको आदेशानुसार खोजी भएका बखत उपस्थित गराउने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को उपदफा (२) बमोजिमको कागज गराई उनका कानुन व्यवसायी अधिवक्ता श्यामबहादुर शाही र अधिवक्ता बसन्त ब्लोनको जिम्मामा २०८२ जेठ २ गते हिरा गरेको थियो ।

गत चैत १५ गते काडमाडौंको तीनकुनेमा राजावादी समुहहरुको आन्दोलनले हिंसात्मक रुप लिदाँ दुई जनाको ज्यान गएको थियो भने सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी र तोडफोडका साथै लुटपात समेत भएको थियो । उक्त घटनामा ४ नाबालकसहित ६५ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस