युएई जाने नेपाली कामदारको न्यूनतम तलब निर्धारण

  • अनलाइन केन्द्र
  • / रोजगार /
  • २०८२ जेष्ठ २२, बिहिबार (१ दिन अघि)
  • ६८ पटक पढिएको
युएई जाने नेपाली कामदारको न्यूनतम तलब निर्धारण

जेठ २२, काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली श्रमिकको न्यूनतम तलब एक हजार दिराम निर्धारण गरेको छ । बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिकको न्यूनतम तलब निर्धारण गर्ने निर्णय गरेका हुन् ।

युएई नेपाली कामदारका लागि आर्कषण गन्तव्यको रुपमा देखिएको जिकिर गर्दै उनले त्यहाँ स्थित दूतावासको सुझावमा न्यूनतम तलब एक हजार हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको सहमतिमा मन्त्रीस्तरीय निर्णय गरिएको बताएका छन् ।

‘यूएई नेपाली श्रमिकको आकर्षकको गन्तव्य हो । तर, यूएईमा कार्यरत नेपाली श्रमिकको न्यूनतम तलब निकै कम ८ सय दिराम थियो,’ उनले भने,‘ हामीले यूएईमा रहेको नेपाली दूतावासको सिफारिसमा नयाँ तलब निर्धारण गरेका छौं ।’

मन्त्री भण्डारीले अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकको अलग(अलग तलब निर्धारण गरेको बताए । जसअनुसार अदक्षको एक हजार दिराम, अर्धदक्षको १२ सय दिराम र दक्षको १५ सय दिराम निर्धारण गरिएको छ ।

मन्त्री भण्डारीले एक हजार दिरामभन्दा कम तलब सुविधा भए रोजगारदाताको माग पत्र प्रमाणिकरण नहुने बताए । यस निर्णयबाट युएईमा न्यून तलबमा काम गर्ने नेपाली श्रमिकलाई ठूलो राहत हुने भण्डारीको विश्वास छ ।

‘न्यून तलबमा काम गर्ने श्रमिकलाई ठूलो राहत हुन्छ । नेपाल सरकारले बजारको अवस्था हेरेर तलब निर्धारण गरेको हो । दूतावासले योभन्दा तल मागपत्र प्रमाणीकरण गर्दैन । यो तलब नदिने रोजगारदाताले नेपाली श्रमिक लैजान पाउने छैनन्’, उनले भने ।

यूएईमा हाल ७ लाख नेपाली कार्यरत छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस