विश्व वातावरण दिवसः प्लाष्टिकजन्य प्रदूषण रोक्न चुनौति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ २२, बिहिबार (१ दिन अघि)
  • ६७ पटक पढिएको
विश्व वातावरण दिवसः प्लाष्टिकजन्य प्रदूषण रोक्न चुनौति

जेठ २२, काठमाडौं । आज विश्व वातावरण दिवस, ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो । आज दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइने संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहरमध्ये त्यसको १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा एक करोड १० लाख टन प्लाष्टिक नदी, तलाउ र महासागरमा विसर्जन हुने गरेको छ ।

नेपालमा भने प्लास्टिक प्रयोगसँगै यसबाट उत्पन्न हुने दीर्घकालीन प्रदूषण न्यूनीकरण गर्न चुनौतीपूर्ण बनेको छ । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले प्लास्टिक प्रयोग सजिलो र सहज लाग्छ भएपनि यसको दीर्घकालीन समस्याले वातावरण र मानव जीवनमै गम्भीर क्षति पुग्ने बताए । उनले प्लास्टिक माटोमा पुरिए पनि सयौँ वर्षसम्म नकुहिने भएकाले यसको प्रयोग र व्यवस्थापन चुनौतीपूर्ण छ ।

वातावरण दिवसको नारासँगै प्लास्टिकको प्रयोग घटाउने, पुनःप्रयोग गर्ने र पुनःउत्पादन गर्ने नारा तत्कालका लागि आत्मसात् गरिएको उनको कथन छ । किन्दा सस्तो हुने भए पनि प्लास्टिकले पु-याउने महँगो क्षतिको चेतना समुदायलाई बुझाउन नसक्नु अर्को चुनौती भएकाले थप उत्पादन गर्नुभन्दा घटाउँदै यसलाई पुनःप्रयोगमा लैजाँदा दीर्घकालमा यसको प्रयोग स्वतः कम हुने वातावरणविज्ञ र अनुगमनकारी निकायले परिकल्पना गरिरहेका छन् ।

नेपालमा तीन वर्षअघि भएको एक अध्ययन अनुसार ३१७ वटा प्लास्टिकका झोला र अन्य सामग्री उत्पादन गर्ने उद्योग छन् । त्यस्तै प्लास्टिकका सामग्री जलाउँदा हुने फोक्सो, छाला, पेट, आँखालगायतका क्यान्सरसहितका दीर्घरोगका अनेक अध्ययन भएका छन् । तिनलाई सामुदायिकीकरण गरेर जीवन रक्षाको पहल गर्न चुनौतीपूर्ण रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ठहर छ ।

यस्तै आजै गैरकानुनी रूपमा माछामार्नेविरुद्धको सङ्घर्ष दिवस पनि हो । राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।

दिगो विकासका लक्ष्य हासिल गर्न गैरकानुनी रूपमा माछामार्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा एफएओको जोड छ । यसरी हरेक वर्ष एक करोड १० लाख देखि दुई करोड ६० टन माछा मारिँदा अर्बौँ डलर हानि हुने गरेको एफएओले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस