वाईसीएलमा भएन सहमति, नेतृत्व छान्न मतदान हुने

वाईसीएलमा भएन सहमति, नेतृत्व छान्न मतदान हुने

जेठ २२, काठमाडौं । सर्वसम्मतीको प्रयास विफल भएपछि माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को नेतृत्व छान्न निर्वाचन हुने भएको छ ।

सहमतिकै प्रयासका लागि भन्दै जेठ १८ देखि २० सम्मको लागि तय भएको तेस्रो सम्मेलनको अवधि लम्बिएको छ । तर, त्यो प्रयास असफल भएपछि निर्वाचन समितिले हिजो अबेर राति निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रमुख निर्वाचन अधिकृत डा. जगतजंग पोखरेलले जारी गरेको तालिका अनुसार हिजो राति १० बजे मतदाता नामावली सार्वजनिक गरिएको छ । आज बिहानसम्म नामावलीमा दाबीविरोधको समय छ ।

आज बिहान ११ बजे अन्तिम मतदाता नामावली प्रकाशन, मध्यान्ह् १२ बजे उम्मेदवारी दर्ता, दिउँसो ३ः२० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने तालिका छ । तर, मतदान कहिले हुने भन्नेबारे टुंगो लागेको छैन ।

मतदान सुरु हुने समय नतोकी कार्यतालिका सार्वजनिक गरिएको भन्दै अध्यक्षका आकांक्षी नवराज ऐरले हलमै विरोध जनाएका थिए ।

वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ र अध्यक्ष सुवोध शेर्पालीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका थिए । प्रचण्डले सहमतिमै नेतृत्व छान्ने विकल्प उपयुक्त हुने सुझाव दिएका थिए ।

अध्यक्षको सुझावअनुसार आकांक्षीहरुलाई एकैठाउँ राखेर छलफल गर्ने तयारी छ । दीपशिखाले भने निर्वाचन प्रतिनिधिहरु पुष्टि हुन कागजातका साथ नआएकाले केही ढिलाई हुनसक्ने देखिएपछि मतदानको समय नतोकिएको हो । आज राति मतदान गराएर भए पनि नयाँ नेतृत्व टुंगिने उनले बताए ।

वाइसीएलको अध्यक्षका लागि १३ आकांक्षी देखिएका छन् । वरिष्ठ उपाध्यक्षका लागि १२, महासचिवमा ८, सचिवमा ९ जनाले दाबी गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस