माघ १८,विराटनगर । टिपर व्यवसायीले अवरुद्ध गरेको कोशी राजमार्ग खुलेको छ । मोरङको सुन्दरहरैंचामा ७ वटा टिपरमा आगजनी गरेको विरोधमा पूर्वाञ्चल टिपर व्यवसायी संघ अवरुद्ध गरेको कोशी राजमार्ग खुलको हो ।
सुन्दर हरैचाकी ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएपछि आक्रोसित स्थानीयले सातवटा टिपरमाा आगजनी गरेका थिए । आगजनीको विरोधमा व्यवसायीले क्षतिपूर्ति पाउनु पर्ने, आगजनी गर्नेलाई कारवाही गर्नु पर्ने माग सहित शुक्रवार टिपर र्याली निकालेका थिए ।
सुन्दरहरैचाको बिराटचोकबाट निस्किएको र्यालीलाई विराटनगर प्रवेशद्धार ढाटमा प्रशासनले रोकेपछि ब्यवसायीले सडक अवरुद्ध गरेका थिए । अवरुद्ध सडक खुलाउन प्रहरीले बल प्रयोग गर्ने चेतावनी दिएपछि राजमार्ग खुलेको हो ।
१२ बजेबाट सुरु भएको चक्काजाम साढे ३ बजे खुलेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले अवरुद्ध सडकको यातायात सामान्य अवस्थामा फर्किएको बताए । सडकमा तेर्स्याएका टिपर प्रशासनले क्रेनको प्रयोग गरी हटाउन खोजेपछि व्यवसायी आफैले सडक खोलेका थिए ।