वैशाख २७, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाइने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले योजना तथा कार्यक्रममा हेरफेर गर्दै आगामी आर्थिक वर्षको बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाइने बताएका हुन् ।
अर्थमन्त्री पौडेलले स्रोतको चुनौतीपूर्ण अवस्थालाई हेरेर योजनाको प्राथमिकीकरण गरिने समेत बताए । उनले अर्थतन्त्रका परिसूचकहरु सुधार हुँदै गए पनि विगतमा देखिएका स्रोत व्यवस्थापनका खाडललाई पुर्न केहि समय लाग्ने उल्लेख गरे ।
बजेट प्रणालीलाई मार्गदर्शन गर्ने दस्तावेजका रुपमा रहेको संविधानका आधारमा आवश्यक नीति अवलम्बन गरिने उनको भनाइ छ । उनले सामाजिक सुरक्षाका नाममा ठूलो रकम खर्च हुने गरेकाले खर्च व्यवस्थापनको समस्या समाधान गर्नैपर्ने धारणा राखे ।