सुधारिएर आयो एसईई परिक्षाको नतिजा, साउन २९ गतेदेखि ग्रेडवृद्धि परिक्षा हुने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ १३, शुक्रबार (५ घण्टा अघि)
  • ५६ पटक पढिएको
सुधारिएर आयो एसईई परिक्षाको नतिजा, साउन २९ गतेदेखि ग्रेडवृद्धि परिक्षा हुने

असार १३, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज पत्रकार सम्मेलन गर्दै एसईईको नतिजा सार्वजनिक गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले यस पटक ६१.८१ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएको जानकारी दिए । जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १ सय ७७ रहेका छन् ।

यस्तै ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।

बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । यस वर्षको नतिजा अन्य वर्षको भन्दा सुधारिएर आएको छ । गत वर्ष ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएकोका थिए । यो वर्ष गत वर्षभन्दा १३.९५ प्रतिशतले एसईईको नतिजा सुधार भएको हो ।

एसईईको पूरक परीक्षा आगामी साउन २९ गते हुने भएको छ । परीक्षा बोर्डले साउन २९ गतेदेखि ग्रेडवृद्धि या पूरक परीक्षा सञ्चालन हुने जानकारी दिएको छ ।

एसईईको नतिजा IVR, एसएमएस र वेबसाइटबाट हेर्न सकिने छ । IVR का लागि नेपाल टेलिकमको ल्याण्डलाइन फोन, मोबाइलबाट १६०० डायल गरी निर्देशनअनुसार प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ । SEE लेखेर एक स्पेस दिएर सिम्बोल नम्बर टाइप गरी १६०० मा म्यासेज पठाएर पनि एसईईको रिजल्ट हेर्न सकिने छ ।

नतिजा हेर्दा धैर्य अपनाउन र आधिकारिक स्रोतहरूमा भर पर्न बोर्डले अनुरोध गरेको छ । २०८१ को एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस