असार १३, पोखरा । मुग्लिन पोखरा सडकअन्तर्गत पूर्वी खण्डको कालोपत्रको काम सकिएको छ । काम सकिएपछि खुसियाली साटासाट गरिएको छ ।
आँबुखैरेनीदेखि जामुनेसम्मको सडकअन्तर्गत चार लेनको कालोपत्र सकिएसँगै निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले आज तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा एक कार्यक्रमको आयोजना गरी खुसी साटासाट गरेको हो ।
मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले कालोपत्रको मुख्य काम सकिएसँगै अनौपचारिक रुपमा कार्यक्रम गरी खुसी साटासाट गरिएको जानकारी दिए ।
पाण्डेका अनुसार पूर्वी खण्डमा अब स–साना काम मात्रै बाँकी छ । ४१.५ किलोमिटर दूरीको उक्त खण्डमा सडक सुरक्षा, सडक मार्किङलगायतका काम भइरहेका छन् । सम्झौता भएको तीन वर्ष र पछिल्लो ४५६ दिनको अवधिमा कालोपत्रको काम सकिएको उनको भनाइ छ ।
यो खण्डको अन्तिम म्याद आगामी असार २९ गतेसम्म रहेको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।