असार १३, काठमाडौं । निजी विद्यालयहरूलाई शैक्षिक गुठीअन्तर्गत सञ्चालन गर्न चाहे छुट दिने प्रश्ताव शिक्षा समितिबाट पारित भएको छ । आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निजी लगानीका विद्यालयहरूलाई शैक्षिक गुठी अन्तर्गत सञ्चालन गर्न प्रोत्साहन स्वरूप छुट दिने प्रश्ताव पारित गरेको हो ।
उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न सिंहदरबारमा बसेको समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो । समितिका सभापति अम्मरबहादुर थापाले निजी विद्यालयहरूको लगानीको हकमा प्रस्तावित व्यवस्थामा आएका सुझावहरूलाई समावेश गर्नेगरी निजी विद्यालयको स्थापना र सञ्चालन सम्बन्धी दफा ४ पारित भएको घोषणा गरे ।
समिति सभापति थापाले निजी विद्यालयहरू सार्वजनिक गुठीमा जान चाहेको खण्डमा प्रोत्साहन स्वरूप विभिन्न छुट र सुविधा दिने प्रश्ताव पेश गरेका थिए । समिति बैठकमा सांसदहरूले निजी विद्यालयहरूलाई सेवामूलक, लोक कल्याणकारी र गैर नाफामूलक बनाई सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै बाल विकास शिक्षाको विषयमा पनि सहमति जुटेको छ । सार्वजनिक विद्यालयमा बालविकास शिक्षा २ वर्षे बनाउनेमा सहमति जुटेको हो । स्रोतको सुनिश्चितता गरी नेपाल सरकारले तोकेको मितिदेखि लागू हुनेगरी सार्वजनिक विद्यालयमा प्रारम्भिक बाल विकास तथा शिक्षालाई दुई वर्षे कार्यक्रमको रूपमा सञ्चालन गर्न सक्नेछ भन्ने प्रावधान समिति सभापति थापाले निर्णयार्थ पेश गर्नु भएको हो ।
यस्तै हाल कार्यरत प्रारम्भिक बाल विकास तथा शिक्षामा बाल विकास सहजकर्तालाई खुला प्रतियोगिताबाट हुने परीक्षामा पहिलो पटक सहभागी हुन उमेरको हद नलाग्न,े नियुक्त हुन कम्तीमा १२ कक्षा उतिर्ण हुनुपर्ने, पारिश्रमिक श्रम सम्बन्धि संघीय कानुनले निर्धारण गरेको न्युनतम पारिश्रमिक र सेवा सुविधा भन्दा कम नहुने भनिएको छ । तर यस सम्बन्धमा स्थानिय तहले कानुन बनाउन सक्ने व्यवस्था गरिएको छ ।
समितिको बैठक भोलि बिहान फेरी बस्ने गरी सकिएको छ । बाँकी रहेका विषयमाथि छलफल गरि सहमति भएमा भोलि नै समितिबाट शिक्षा विधेयक पारित हुने छ ।