जेठ १७, काठमाडौं । सेवा निवृत्त कर्मचारीहरुले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । काठमाडौमा आज पत्रकार सम्मेलन गर्दै उनीहरुले वहालवाला कर्मचारीहरुलाई ५ हजार भत्ता दिएर आफूहरुलाई वेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् ।
सेवा निवृत्त राष्ट्रिय संगठन नेपालका अध्यक्ष बाबुराम पाण्डेले नियम अनुसार हरेक ३/३ वर्षमा तलब वृद्धि हुनुपर्नेमा ४ वर्ष वितिसक्दा पनि सरकारले तलब वृद्धि नगर्नु दुःखद भएको बताए ।
वहालवाला कर्मचारीहरुलाई थप भत्ता दिएर ‘ललिपप’ देखाएको बताउँदै पाण्डेले,“निवृत्त राष्ट्रसेवकको उर्जाशील समय जीवनभरी राष्ट्रलाई गरेको योगदानको अबमूल्यन गरेको उल्लेख गरे । सरकारले समयमै पेन्सन वृद्धि वा विशेष व्यवस्था नगरे संघर्ष गर्न बाध्य हुने उनको चेतावनी छ ।
सेवा निवृत्त राष्ट्रिय संगठन नेपालका महासचिव विनोद थापाले निवृत्त राष्ट्र सेवक कर्मचारीहरुको सेवा–सुविधा नियोजितरुपमा वृद्धि नगरिएको भन्दै त्यस विरुद्ध आफूहरु संघर्ष गर्न पछि नपर्ने चेतावनी दिए ।
यस्तै नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठले सेवा निवृत्तहरुले गर्ने संघर्षमा आफूहरुको ऐक्यबद्धता रहेको बताए । श्रेष्ठले सरकारले सेवा निवृत्त राष्ट्र सेवकहरुको सेवासुविधा नबढाई उपेक्षा गरेमा आफूहरुले कडा संघर्ष गर्ने बताए ।