‘राइड सेयरिङ’ खारेजीको माग गर्दै गण्डकीमा यातायात ठप्प

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ १६, शुक्रबार (१ दिन अघि)
  • ८८ पटक पढिएको
‘राइड सेयरिङ’ खारेजीको माग गर्दै गण्डकीमा यातायात ठप्प

जेठ १६, पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई कानुनी मान्यता दिदै जारी गरेको वियमावलीको विरोधमा यातायात व्यवसायीहरुले गण्डकीमा सार्वजनिक यातायात सेवा संचालन रोकेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा गण्डकीका सवारी व्यवसायीहरूले आन्दोलन थालेका छन् । उनीहरूले सरकारको निर्णयले सार्वजनिक यातायातलाई कमजोर बनाउने आशंका व्यक्त गर्दै निर्णय फिर्ता लिन दबाब दिइरहेका छन् ।

यातायात व्यवसायीको विरोधका कारण आज बिहानैदेखि गण्डकीमा ट्याक्सी, बस र ढुवानी सेवा पूर्ण रूपमा अवरुद्ध छन् । गण्डकीका १६ हजार सार्वजनिक सवारी साधनहरू हाल घर र ग्यारेजमा थन्क्याइएको छ । जसमा कारण पर्यटकीय नगरी पोखरासहित विभिन्न स्थानका सडकहरू बिहानैदेखि सुनसान छन् ।

महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले सरकारकै कदमले व्यवस्थित यातायात प्रणाली धरासायी बनाउने आरोप लगाएका छन् ।

पोखरा ट्याक्सी प्रालिका अध्यक्ष शोभाकान्त पौडेलका अनुसार, निजी सवारी साधनलाई सार्वजनिक सरह प्रयोग गर्न दिने नीतिको विरोधमा आन्दोलन गरिएको हो । उनले सरकार आफ्नो निर्णयबाट पछि नहटे सम्म आन्दोलन जारी रहने बताएका छन् । व्यवसायीहरू १६ गतेदेखि गण्डकीभित्र र १९ गतेदेखि देशभर सवारी अवरुद्ध गर्ने चेतावनी दिइरहेका छन् ।

संघर्ष समितिका प्रवक्ता योगेन्द्र केसीले सरकारले संघीय कानुनको बेवास्ता गर्दै सार्वजनिक सवारीको भूमिकालाई कमजोर बनाउने गरी निजी सवारीलाई सेवा दिने अधिकार दिएको आरोप लगाएका छन् ।

प्रदेश सरकारले गत वैशाख ३० गते मन्त्रिपरिषदबाट पास गरेर राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवा नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित गरेको थियो ।

नियमावलीप्रति असहमति जनाउँदै व्यवसायीहरूको चर्को विरोधपछि सरकारले वार्ता समिति गठन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव कमलकुमार अधिकारीको संयोजकत्वमा १३ गते समिति बनाइएको हो, जसले व्यवसायीहरूलाई वार्तामा सहभागी हुन अनुरोध गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस