जेठ १७, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले सूचना निकालेर आज शनिबार देखि आगामी असार २४ गतेसम्मका उक्त क्षेत्रमा निषेधाज्ञा लगाएको जानकारी गराएको हो ।
प्रशासनले उक्त क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न नपाइने जनाएको छ । केशरमहल चोकबाट नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण गेटसम्म निषेधको आदेश गरिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम जिल्ला सुरक्षा समिति काठमाण्डौको सिफारिशका आधारमा यसअघि तोकिएका निषेधका क्षेत्रका अतिरिक्त यो आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।
राजावादीहरुले प्रदर्शन गर्न थालेपछि प्रशासनले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा लगाएको हो । निषेधाज्ञाप्रति राजावादी समुह नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले भने विरोध जनाएको छ ।
शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै राजावादी आन्दोलनका संयोजक सुवेदीले शान्तिपूर्ण जनआन्दोलन पूर्ण सफलताका साथ जारी रहेको जनाएका छन् । “जनताको निःस्वार्थ साथ, सहयोगले आन्दोलनमा उत्साह सञ्चार गरेको छ । जनताको समर्थनमा आन्दोलन उत्कर्षमा पुग्ने अवस्थाबाट अत्तालिएको सरकारले निषेधाज्ञा जारी गरेको छ,” विज्ञप्तिमा उल्लेख छ ।
सरकारले निषेधाज्ञा जारी गरेपछि आजलाई तोकिएको स्थान (दरबार मार्ग)बाट परिवर्तन गरेर शान्तिवाटिका, रत्नपार्कलाई प्रदर्शनस्थल तोकिएको सुवेदीले जानकारी गराएका छन् ।