जेठ १७, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यदि अहिलेका प्रमुख पार्टीका प्रमुख नेताहरूले आजै विश्राम लिने घोषणा गरेमा राजावादी आन्दोलन आफैँ सकिने दाबी गरेका छन् । शनिबार ललितपुरमा आयोजित ‘गणतन्त्र नै सही बाटो’ संवाद कार्यक्रममा बोल्दै उनले शीर्ष नेताहरूले विश्राम लिन उपयुक्त हुने बताएका हुन् ।
गणतन्त्रको सबैभन्दा आधारभूत विषय भनेकै राजनीतिक दल नै भएको भन्दै उनले दलभित्र एउटै व्यक्तिहरू नेतृत्वमा रहिरहेको घटना नेपालमा बाहेक विरलैमात्र देखिने बताए ।
महामन्त्री थापाले भने, ‘जहाँ चाहिँ समाजले अस्वीकार गरेको कुनै व्यक्ति, म पात्रमा भएको होइन । यति लामो समयसम्म एउटै अनुहार एउटै भूमिकामा रहने चाहिँ विरलैमात्र हुन्छ होला । हाम्रो डेमोक्रेसीको सबैभन्दा ठूलो समस्या नै यही हो । मैले खुला भनेको छु, नेपालका ठूला पार्टीका ठूला नेताहरूले आजको दिनबाट हामीले आआफ्नो दलबाट विश्राम लियौँ भन्नुभयो भने आजकै दिनबाट यो आन्दोलन केही बाँकी रहँदैन । सबै घर फर्किन्छन् ।’
उनले शीर्ष नेताहरूले नेतृत्व छोड्ने बित्तिकै सबै समस्या समाधान भने नहुने तर धेरै समस्या बुझेर समाधान गर्न सकिने बताए । उनले नेपालमा केही भएको छैन भन्ने भाष्यको खण्डन गरे । उनले विकृत राजनीतिक गठबन्धनको संस्कृतिबाट पनि मुक्त हुनुपर्नेमा जोड दिए ।
उनले राप्रपाले संवैधानिक राजतन्त्र कि गणतन्त्र भन्ने बहस गरे पनि गणतन्त्र कि राजतन्त्र भन्ने हुनुपर्ने बताए । राजा हुन्छु भन्ठान्ने ज्ञानेन्द्रलाई सडकमा आएर जवाफ दिन पनि उनले अपिल गरे ।