राजावादीको काठमाडौं उपत्यका बन्द फिर्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ जेष्ठ १९, सोमबार (१ दिन अघि)
  • ३९ पटक पढिएको
राजावादीको काठमाडौं उपत्यका बन्द फिर्ता

जेठ १९, काठमाडौं । संयुक्त जनआन्दोलन समितिले आजका लागि गर्ने भनिएको काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । कमल थापा, दीपक सिंहलगायत पक्राउ परेका व्यक्ति छोड्न माग गर्दै हिजो समितिले उपत्यका बन्दको घोषणा गरेको थियो ।

“जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरू रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी गराइन्छ,” नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले विज्ञप्ति जारी गर्दै भनेको छ ।

आइतबार दिउँसो काठमाडौंको नारायणचौरमा भएको प्रदर्शनका क्रममा थापाले निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेपछि प्रहरीले अध्यक्ष थापासहित शिला राणा, रोकश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिना र राजीव झालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई भेट्न गएका प्रतिनिधिसभाका सांसद दिपक बहादुर सिंह पनि जिल्लाा प्रहरी परिसर काठमाडौंबाटै पक्राउ परेका थिए । परिसरले साँझै राजीव झाबाहेक अन्यलाई रिहा गरेको थियो ।

राजतन्त्र पुनर्स्थापनाको माग राख्दै राप्रपा, राप्रपा नेपाल लगायतका राजावादी समुहद्वारा गठित संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते गणतन्त्र दिवसकै दिनदेखि काठमाडौं केन्द्रित भएर जनप्रदर्शन गरेका छन् । समितिले राजतन्त्र पुनर्स्थापना नभएसम्म आन्दोलनलाई जारी राख्ने बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस