जेठ २०, रुकुमपश्चिम । रुकुमपश्चिमको एक सामुदायिक विद्यालयको प्रवेशद्वारमा विद्यालयकै प्रधानाध्यापकले मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री गर्ने गरेको पाइएको छ । आठबिसकोट नगरपालिका-८ स्थित हिमालय माध्यमिक विद्यालयको मूलगेटमै रहेको स्टेसनरी पसलमा मदिरा, चुरोट तथा सुर्तीजन्य पदार्थको व्यापार हुने गरेको हो ।
गरपालिकाका उपप्रमुख धनकुमारी शाहीको नेतृत्वमा भएको अनुगमन टोलीले विद्यालयको गेटदेखि करिब तीन मिटरको दूरीमा रहेको पसलमा मदिरा तथा सुर्तीजन्य पदार्थको कारोबार हुने गरेको फेला पारेको हो । उपप्रमुख शाहीका अनुसार स्कुलको मूलगेटमै रहेको विवेक स्टेसनरी तथा किराना पसलमा बियर, चुरोटलगायत सुर्तीजन्य पदार्थको बिक्री हुने गरेको छ ।
स्टेसनरीका नाममा सञ्चालित पसलभित्र मदिरालगायत विद्यालयपरिसरमा प्रतिबन्धित सामान बेच्ने गरेको पाइएपछि सो पसललाई १० हजार रुपैयाँ जरिबाना गरेको शाहीले बताइन् । यो पसल प्रधानाध्यापक नवराज बुढाको हो । प्रधानाध्यापकले नै विद्यालय परिसरमा रक्सी, चुरोट, सुर्ती बेच्ने गरेको गुनासोपछि अनुगमनमा जाँदा स्टेसनरी तथा किराना पसलभित्र बियर, चुरोट, सुर्ती राखेर बिक्री गर्ने गरेको पाइएको हो ।
विद्यालय क्षेत्रमा विवेक स्टेसनरी तथा किराना पसलको नाममा दर्ता गरेको पसलमा सार्वजनिक पदमा बसेको जिम्मेवार व्यक्तिले मदिरा र सुर्तीजन्य व्यापार गर्नु दण्डित कार्य भएको नगर उपप्रमुख शाहीको भनाइ छ ।
यो विषयमा प्रधानाध्यापक नवराज बुढाले आफूले मदिरा बिक्रीवितरण नगरेको तर चरित्रहत्या गर्नलाई हल्ला फैलाउन खोजिएको बताए । आफन्तको विवाहमा मदिरा ल्याएको र बाँकी रहेपछि परिवारका सदस्यले सुत्ने कोठामा राखेका रक्सीका बोतल निकालेर पसलबाट रक्सी बेचेको आरोप लगाइएको उनको भनाइ छ । परिवारका अन्य सदस्यले स्टेसनरी र किनारा पसल सञ्चालन गरेका तर मदिरा बिक्री नगरेको उनको दाबी छ ।