सगरमाथा नेक्स्टको ‘एट द टिपिङ पोइन्ट’मा हिमालदेखि विश्वसम्मको कला संवाद हुँदै

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ २१, बुधबार (१ दिन अघि)
  • ६८ पटक पढिएको
सगरमाथा नेक्स्टको ‘एट द टिपिङ पोइन्ट’मा हिमालदेखि विश्वसम्मको कला संवाद हुँदै

जेठ २१, काठमाडौं । वातावरणीय चेतना र समकालीन कलाको प्रभावकारी संयोजनका लागि चर्चित सगरमाथा नेक्स्टले “एट द टिपिङ पोइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वल्र्ड” शीर्षकमा प्रदर्शनी आयोजना गर्ने भएको छ ।

विश्व वातावरण दिवसको अवसर पारेर बिहिवार साँझ ४ बजे तारागाउँ नेक्स्ट, काठमाडौंमा प्रदर्शनीको उद्घाटन हुनेछ । उद्घाटन पश्चात साँझ नेपाली कलाकार सलिल सुवेदीको ‘अर्थ इमर्जेन्स’ नामक विशेष लाइभ प्रस्तुति हुनेछ । सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजना गरिएको प्रदर्शनीलाई ख्यातिप्राप्त भारतीय कला इतिहासकार डा। अर्शिया लोखान्डवालाले संयोजन गरेकी हुन् ।

प्रदर्शनीको मूल अवधारणा प्रसिद्ध उत्तर–उपनिवेशवादी चिन्तक गायत्री चक्रवर्ती स्पिवाकको “प्लानेटरिटी” विचारमा आधारित रहनेछ । जसले मानव जातिलाई प्रकृतिको स्वामी नभई, आपसी सम्बन्धमा गाँसिएको र उत्तरदायी अस्तित्वको रूपमा पुनर्विचार गर्न प्रेरित गर्नेछ ।

विश्व औसतभन्दा झण्डै दोब्बर गतिको तापक्रम वृद्धिको सामना गरिरहेको हिमालय क्षेत्रको यथार्थमाथि केन्द्रित यो प्रदर्शनीले जलवायु परिवर्तन, सांस्कृतिक चेतना, स्वदेशी ज्ञान र वैज्ञानिक दृष्टिकोणलाई समेट्दै समकालीन कलाको माध्यमबाट पृथ्वीप्रतिको सम्बन्ध पुनः परिभाषित गरिने छ ।

प्रदर्शनीमा १२ जना अन्तर्राष्ट्रिय तथा नेपाली कलाकारहरूले आ–आफ्ना विशिष्ट सिर्जनामार्फत वातावरणीय संकटमाथि विविध दृष्टिकोण प्रस्तुत गर्नेछन् । स्वालबार्डको हिम क्षेत्रमा खिचिएको हिमाली सिंह सोइनको कवितामूलक भिडियोले उपनिवेशवाद, जलवायु परिवर्तन र असफल उत्खननमाथि प्रश्न उठाउने छ ।

उर्सुला बिमान्नले कोलम्बियाको इन्गा समुदायसँगको सहकार्यमा बनाएको ‘फरेस्ट माइन्ड’ भिडियो निबन्धले जंगललाई चेतनशील ज्ञानको स्रोतका रूपमा प्रस्तुत गर्नेछ ।

उत्सा हजारिकाको ‘यन्त्र–ब्लुम’ जीवित मूर्तिकलाले दिल्लीको सम्राट यन्त्र स्यान्डायललाई चमेलीका फूलमार्फत नयाँ जीवन दिनेछ । मक्सुद अली मण्डलको ‘फङ्गल ह्याबिट्याट’ले च्याउ, माटो र काठको संयोजनमा बन्ने आत्मविकासशील मूर्तिकला प्रस्तुत गर्नेछ ।

त्यस्तै, समयुक्ता भण्डारीको ‘एकोज अफ सर्भाइवल’ले शहरीकरणबीच हराउँदै गएका भँगेराको आवाजलाई प्रविधि र ध्वनि मार्फत प्रतिविम्वित गर्नेछ । अमित माछामासीले भक्तपुरको हराउँदै गएको कृषियोग्य भू–परिवर्तनलाई तीनवटा फोटोग्राफिक श्रृंखलामार्फत प्रस्तुत गर्नेछन् ।

सलिल सुवेदीको ‘अर्थ इमर्जेन्स’ले पृथ्वीको मौलिक आवाजलाई माटो, शरीर र ध्वनिको माध्यमबाट आह्वान गर्ने रीतिपरक जीवित प्रस्तुति दिनेछ । मोनिका उर्सिना जेगरको ‘लिक्विड टाइम’ले पहाडको ढुंगाबाट बालुवा हुँदै कंक्रिट निर्माणसम्मको चक्रलाई आलोचनात्मक रूपमा प्रस्तुत गर्नेछ ।

जोआना मोलको ‘४००४’ ले माइक्रोचिप निर्माण प्रक्रियालाई कीराको जनसंख्यामा आएको गिरावटसँग जोडेर डिजिटल रुपमा देखाउनेछ । क्रिस जोर्डनले समुद्री प्लास्टिक प्रदूषणका कारण मरेका अल्बाट्रस चराको बच्चाहरूको तस्बिर र चलचित्र देखाउनेछन् ।

सौर्गङ्गा दर्शनधारीले नेवार समुदायको योमरी चाडसँग सम्बन्धित मूर्तिकलालाई खाद्य संस्कृति र पारिस्थितिक सन्तुलनसँग जोडेर प्रस्तुत गरिनेछ । साथै, रोबर्टिना शेबजानिकले द एटलान्टिक टेल्स् एण्ड को सोनिक मार्फत साउन्ड इन्स्टलेसन मार्फत वातावरणीय ह्रासको अदृश्य पक्ष प्रस्तुत गर्नेछन् ।

अन्य विशेष प्रस्तुतिमा मोनिका उर्सिना जेगर, जोआना मोल, सौर्गङ्गा दर्शनधारीका सिर्जनाहरू समावेश छन् भने सलिल सुवेदीले माटो, ध्वनि र शरीरको माध्यमबाट पृथ्वीसँगको संवेदनात्मक सम्बन्ध जगाउने जीवित रीतिपरक प्रस्तुति दिनेछन् ।

प्रदर्शनीको विशेष पक्ष भनेको यसले आर्कटिकदेखि एन्डिजसम्म, नेपालको खेतबारीदेखि डिजिटल क्लाउडसम्म फैलिएको संसारलाई एउटै कलात्मक फ्रेममा बाँधेको छ । यसले कला र चेतनाको संयोगमार्फत दर्शकलाई पृथ्वीप्रतिको सम्बन्ध र जिम्मेवारीबारे सोच्न प्रेरित गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस