जेठ १८, काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरमा सम्पन्न भएको छ । आइतबार जावलाखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो ।
भोटो जात्रा समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश लगायतले मच्छिन्द्रनाथको दर्शन गर्दै प्रसाद ग्रहण गरेका थिए ।
मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल पु-याएको चार दिनपछि भोटो देखाउने परम्परा छ । मणि, माणिक, रत्न आदि बहुमूल्य वस्तुजडित भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन सार्वजनिक रूपमा देखाउने प्रचलन छ ।
अब रातो मत्स्येन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यस वर्षको रातो मत्स्येन्द्रनाथको रथयात्रा सकिनेछ ।