जेठ १८, काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरेका छन् ।
उनले शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापामाथि प्रहरीले गरेको अमानवीय व्यवहारको पनि निन्दा गरिएको छ । यसकै विरोधमा भोलि १९ गते सोमबार उपत्यका बन्द घोषणा गरिएको छ । उनीहरुलाई बिनाशर्त रिहा गर्न पनि माग गरेको छ ।
यस्तै राप्रपा नेपालका प्रवक्ता राजाराम बर्तौलाले पनि विज्ञप्ति जारी गर्दै सरकारको कदमलाई अलोकतान्त्रिक र तानाशाही भनेका छन् । उनले पक्राउ परेका नेताहरुलाई रिहा नगरिए भोलिबाट आन्दोलनलाई शसक्त बनाउने र त्न्यसको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएका छन् ।
त्यस्तै आजको घटनामा नेताहरुमाथि दुर्व्यहार गरिएको भन्दै ती प्रहरीमाथि छानबिन गर्न समेत राप्रपा नेपालले माग गरेको छ । साथै राप्रपा नेपालले आन्दोलनमा सहभागी हुन सर्मथकलाई अपिल गरको छ ।
आजको प्रदर्शनको क्रममा भिडलाई उक्साउने गरी अभिव्यक्ति दिइ निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा काठमाडौंको नक्सालबाट अध्यक्ष थापासहित शिला राणा, रोकश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिना र राजीव झालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा रहेका उनीहरुलाई भेट्न भएका राप्रपाका नेता एवम् प्रतिनिधिसभाका सांसद दिपक बहादुर सिंह पनि परिसरबाटै पक्राउ परेका थिए । अहिले उनीहरु परिसरको हिरासत कक्षमा राखिएको छ ।
पक्राउपछि तत्कालै राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले पनि सरकारको कदमलाई भर्सना गरेको छ । थापा लगायतका नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि बसेका बैठकले यस घटना संविधानको व्यवस्था विपरीत, अलोकतान्त्रिक, सर्वसत्तावादी र विचारलाई निषेध गर्ने प्रयास भनेको छ ।
यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले शान्तिपूर्ण आन्दोलनलाई कमजोरीको रुपमा नलिन सरकारलाई चेतावनी दिए । ‘हाम्रो शान्तिपूर्ण आन्दोलनलाई कमजोरी ठान्नुहुन्छ भने हामी आगामी दिनमा ५०औं ठाउँबाट जुलुस निकाल्नेछौं,’ उनले भने, ‘कमल थापालाई ससम्मान रिहा गर्नुपर्छ ।’