जेठ १८, काठमाडौं । राजतन्त्र पुनस्थापनाको माग गर्दै राजावादीहरुको आन्दोलन चर्कंदै गएपछि सरकारले काठमाडौँ उपत्यकामा निषेधित क्षेत्र विस्तार गरेको छ । सरकारले चक्रपथभित्रका सार्वजनिक ठाउँमा अनशन, धर्ना, घेराउ, जुलुससभा गर्न निषेघ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार सिफलचौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी क्षेत्र र बल्खु क्षेत्र बाहेक अन्यत्र कार्यक्रम गर्न निषेध गरिएको जानकारी दिएको हो । उक्त क्षेत्रबाहेकका ठाउँमा भोलिदेखि २ महिनासम्मका लागि निषेध गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी आदेश भनिएको छ ।
जारी आदेशमा जिल्लाको चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन लगायतका विरोधका कार्यक्रम आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्ने जनगुनासोलाई मध्यनजर गर्दै र सार्वजनिक सम्पत्ति र शान्ति सुरक्षामा असर पर्ने भन्दै तीन ठाउँ बाहेकलाई दुई महिनाका लागि निषेधित क्षेत्र तोकिएको बताएको छ ।
प्रशासनसँगको समन्वयमा हुने कार्यक्रममा भने तोकिएबाहेकका अन्य क्षेत्रमा पनि कार्यक्रम गर्न दिन सकिने प्रमुख जिल्ला अधिकारी तिवारीले उल्लेख गरेका छन् ।
यसअघि शुक्रबार काठमाडौँ प्रशासनले नारायणहिटी दरबार आसपासलाई निषेधित क्षेत्रमा थपेको थियो । प्रशासनले केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहलाय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र शालिक हुँदै संग्रहालयको दक्षिण गेटसम्म निषेधित क्षेत्र तोकिएको थियो ।