जेठ १८, काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक एवम् तत्कालिन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ बलहियाबाट शनिबार पक्राउ गरेको हो ।
।
सीआईबीका प्रवक्ता डीएसपी युवराज खड्काले रायमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको असुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
सल्यान घर भएका राय हाल बाँकेको नेपालगन्ज महानगरपालिका वडा नम्बर २० मा बस्दै आएका थिए । राय २०७६ देखि २०७९सम्म बैंकको सीईओका रुपमा कार्यरत थिए । रकम अपचलन भएको भन्दै बैंकमाथि अनुसन्धान प्रक्रिया अघि बढेपछि राय फरार भएका थिए । उनीमाथि २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोप छ ।
रकम अपचलनमा बैंकका पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी र निरजविक्रम शाह समेत संलग्न रहेको बैंकको आन्तरिक छानबिनबाट खुलेको थियो । हाल कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा छ ।