जेठ १७, पोखरा । ‘राइड सेयरिङ’ को विरोधमा यातायात व्यवसायीले आज पनि गण्डकी प्रदेशभर सार्वजनिक सवारी ठप्प पारेका छन् । यातायात बन्दका कारण सर्वसाधाण यात्रु तथा विशेषत उपचारमा आउने विरामी मारमा परेका छन् ।
गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावली खारेज गर्नुपर्ने भन्दै शुक्रवारदेखि प्रदेशभरि सार्वजनिक यातायात सञ्चालकहरूले आफ्ना सवारी साधन थन्काएर यातायात ठप्प पारेका हुन् ।
प्रदेश सरकारले चैत ३१ गतेको मन्त्रिपरिषद् बैठकबाट राइड सेयरिङ सम्बन्धी नियमावली पारित गरी राजपत्रमा प्रकाशन गरेको थियो । व्यवसायीले उक्त नियमावली खारेजीको माग गरेका छन् ।
व्यवसायीहरुले सङ्घीय ऐनसँग बाझिने गरी सातै प्रदेश सरकारहरूले ल्याउने तयारी रहेको र गण्डकी प्रदेश सरकारले गत जेठ १ गते रापजत्रमा प्रकाशन गरी निजी सवारी सञ्चालन गर्न ल्याएको नियमावलीको दफा २ को ‘ज’ तत्काल खारेज हुनुपर्ने माग गरेका छन् ।
व्यवसायीहरुले नियमावलीको खारेजीको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । उनीहरुले जेठ १८ गतेसम्म प्रदेशभरि सार्वजनिक यातायात ठप्प पार्ने र १९ गतेदेखि देशैभर सबै गाडी चलाउन रोक्ने चेतावनी दिएका छन् ।
नेपाल यातायात व्यवसायी महासङ्घ, सार्वजनिक यातायात केन्द्रीय महासङ्घ, नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ, ढुवानी व्यवसायी महासङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र नेपाल यातायात मजदुर सङ्घले संयुक्त आन्दोलन नेतृत्व गरेका छन् ।