जेठ १८, काठमाडौं । राजावादी प्रदर्शनका क्रममा प्रहरीले ७ जनालाई नियन्त्रणमा समेत लिएको छ । काठमाडौँको नक्सालस्थित नारायणचौरबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापासहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
थापाले भिडलाई उक्साउने गरी अभिव्यक्ति दिइ निषेधित क्षेत्र तोड्न खोजेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए । पक्राउ परेका सातै जनालाई अहिले परिसरको हिरासत कक्षमा राखिएको छ ।
पक्राउ पर्नेमा राप्रपा नेपालका अध्यक्ष थापा, ललितपुर जावलाखेलकी शिला राणा, भक्तपुर थिमिका रोकश बस्नेत, नुवाकोटको पञ्चकन्या नगरपालिका–१ का रामचन्द्र लामिछाने, टोखा नगरपालिका–२ का विनोद कपाली, भक्तपुरको चाँगुनारायणका ३४ वर्षीय सरोज तिमिल्सिना र राजीव झा छन् ।
राजतन्त्र पुनर्स्थापनाको माग राख्दै राप्रपा, राप्रपा नेपाल लगायतका राजावादी समुहद्वारा गठित संयुक्त जनआन्दोलन परिचालन समितिले जेठ १५ गते गणतन्त्र दिवसकै दिनदेखि काठमाडौं केन्द्रित भएर जनप्रदर्शन गरेका छन् । समितिले राजतन्त्र पुनर्स्थापना नभएसम्म आन्दोलनलाई जारी राख्ने बताएका छन् ।