सरकारको २० वर्षे वृक्षरोपण महाअभियान आजदेखि, वार्षिक ३ करोड विरुवा रोप्ने लक्ष्य

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ १४, शनिबार (५ घण्टा अघि)
  • ४३ पटक पढिएको
सरकारको २० वर्षे वृक्षरोपण महाअभियान आजदेखि, वार्षिक ३ करोड विरुवा रोप्ने लक्ष्य

असार १४, काठमाडौं । सरकारले नेपालमा वृक्षरोपणको २० वर्षे महाअभियान शुरु गर्ने भएको छ । अन्तर्राष्ट्रिय वृक्षरोपण दिवसका अवसर पारेर शनिबार ‘सगरमाथा वृक्षरोपण महाअभियान २०२५-२०४५’ शनिबार शुरु हुन लागेको हो ।

महाअभियानको उद्घाटन ललितपुरको गोदावरीस्थित जिल्ला वन कार्यालय परिसरमा हुने भएको छ । शुक्रबार वन तथा वातावरण मन्त्रालयले पत्रकार सम्मेलन गरी वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले महाअभियानको शुरुवात गर्ने जानकारी दिएको हो ।

महाअभियान अन्तर्गत सङ्घ, प्रदेश र ७५३ वटा स्थानीय तहमा एकै साथ वृक्षरोपण हुने छ । त्यसका लागि सम्बन्धित प्रदेश तथा स्थानीय तहस्थित जिल्ला वन कार्यालयका नर्सरीमा निःशुल्क बिरुवा प्रदान गरिने छ ।

सङ्घ, प्रदेश र स्थानीय तहका सरकारी तथा सार्वजनिक, सामुदायिक तथा निजी खाली जग्गाहरूमा वृक्षरोपण गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । भिरालो तथा नदी किनारका खाली जग्गामा पनि वृक्षरोपण हुनेछ ।

महाअभियानका क्रममा नेपालको पूर्ण जनसङ्ख्या अनुसार ‘एक व्यक्ति एक बिरुवा पर्नेगरी हरेक वर्ष तीन करोड बिरुवा रोप्ने लक्ष्य राखिएको छ । यो हिसाबले २० वर्षमा ६० करोड बिरुवा रोपिने वन तथा वातावरणमन्त्री शाहीले बताए ।

‘यो महाअभियान मन्त्रालयले गर्ने कुनै परियोजना जस्तो होइन’, उनले भने ‘रोपिएका हरेक बिरुवामा नागरिकको स्वामित्व र संरक्षण प्रदान गरिने छ ।’

यसले नेपाल सरकारले लिएको जैविक विविधता संरक्षण, हिमाल संरक्षण र कार्बन उत्सर्जन कम गर्ने नीतिलाई सघाउने बताइएको छ । सरकारले वैश्विक रूपमा जलवायु परिवर्तनको असर कम गर्न सन् २०२५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य लिएको छ। यो लक्ष्य प्राप्त गर्न यस महाअभियानले सघाउने अपेक्षा गरिएको छ ।

२० वर्षे महाअभियान ​गत जेठमा भएको सगरमाथा संवादको निष्कर्षका रूपमा आएको २५ बुँदे कार्यगत घोषणा कार्यान्वयनको महत्त्वपूर्ण पाटोका रूपमा रहेको मन्त्री शाहीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस