असार १४, काठमाडौं । जननेता मदन भण्डारीको ७५ औँ जन्म जयन्ती, आज बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । मदन भण्डारी फाउन्डेसनले काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली र विशिष्ट अतिथिका रुपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुँने भएका छन् । पार्टीमा पछिल्लो केही समययता ओली र भण्डारीबिीच तिक्तता रहेको विश्लेष्णका बीच आज एउटै मञ्चमा सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओली आज बिहान जन्मजयन्तीका अवसरमा आयोजित वृक्षारोपण कार्यक्रममा सहभागी हुने र दिउँसो २ बजे सभागृहको कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।
आजको कार्यक्रम केही विशेष रहेको नेताहरु बताउँछन् । राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेको दुई वर्षपछि भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कन चाहिरहेकी छन् । आजकै सभाबाट उनले त्यसबारे पनि औपचारिक घोषणा गर्ने भन्दै उनीपक्षीय नेताहरुमा उत्साह देखिन्छ ।
भण्डारीले ओलीकै अगाडी राजनीतिमा सक्रिय भएको घोषणा गर्न चाहेकी हुन् । सम्भवतः नेकपा विभाजनबाट पुर्नस्थापित एमालेमा ओलीको चुनौतीरहित नेतृत्वमाथि आजबाट विद्या विकल्पको रूपमा कार्यकर्तामाझ उपस्थित हुनुछिन् ।
यसअघि एमालेकी उपाध्यक्ष रहेकी भण्डारीले सक्रिय राजनीति छाडेको झन्डै १० वर्ष भएको छ । अहिले फेरि कम्युनिस्ट एकताको संकल्पसहित भण्डारी एमालेको नेतृत्वमै आउन चाहिरहेकी छन् ।