माघ २, रोल्पा । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जिल्लामा सुन, तामा, र सिङ्गमर्मर खानी रहेकाले निजी क्षेत्रको लगानीमा उत्खननको प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।
माघी मेला तथा खेलकूद महोत्सवमा उनले जिल्लाका सबै वडामा विद्युत् विस्तार गर्ने गरी चालू आर्थिक वर्षमा रु २९ करोडको बोलपत्र भइसकेको र थप रु ३२ करोडकोसमेत बोलपत्र गर्ने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी गराए ।
जिल्लामा यातायात, सञ्चारजस्ता क्षेत्रको विकास तीव्र गतिमा भइरहेको बताउँदै विद्युत्लाईसमेत सँगसँगै जोड्न जरुरी रहेको मन्त्री पुनको भनाइ थियो ।
सो कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्ती, प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, प्रदेशसभा सदस्य दीपेन्द्र पुनलगायतको सहभागिता थियो । रासस