असार ३०,काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले कामलाई युद्धस्तरमा अघि बढाउन सबै मन्त्रालयलाई कडा निर्देशन दिएका छन ।
उनले शनिबार पनि १३ वटा विषयगत मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेशपछि मन्त्रीहरुलाई कामलाई युद्धस्तरमा अघि बढाउन सचेत गराएका हुन ।
सिंहदरबारमा जारी छलफलमा उनले समय सीमा तोकेर देश र जनताको हितमा कामलाई युद्धस्तरमा अघि बढाउन ढिलाई गर्न नहुने बताएका थिए ।
यस अघि प्रधानमन्त्री ओलीले १२ वटा विषयगत मन्त्रालयको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे मन्त्रीहरुसँग सामूहिक छलफल गरेका थिए ।
आज १३ वटा मन्त्रालयसँग छलफल जारी रहेको र कामलाई युद्धस्तरमा अघि बढाउने गरी अघि बढन प्रधानमन्त्रीले निर्देशन दिनु भएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी ढंगले संचालन गर्न मन्त्रीहरुलाई कार्यान्वयन कार्ययोजना तय गर्न पनि निर्देशन दिएका थिए ।
त्यही निर्देशन अनुसार मन्त्रीहरुले पेश गरेको कार्ययोजनामाथि शनिबार पनि छलफल जारी छ ।
कार्ययोजनामा बजेट र त्यसको कार्यान्वयन गर्ने मितिसहितको योजना पनि समेटिएको सरकारका प्रवक्ता बास्कोटाले बताए ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट यही श्रावण १ गतेदेखि कार्यान्वयनमा लैजानेछ ।
‘सबै नागरिकलाई संविधानले समान अधिकार दिएको छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले सबै नागरिकलाई बराबरीको अधिकार प्रत्याभूत गरेको बताएका छन ।
अखिल नेपाल महिला संघ केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आम नागरिकमाथि संविधानले विभेद गरेको छैन भने ।
‘योगमाया न्यौपानेको सामाजिक आन्दोलनका सय वर्ष र महिला मुक्ति आन्दोलन’ विषयको अन्तक्र्रियामा उनले कुनै पनि नागरिक राज्यको अधिकारबाट बञ्चित हुनु नपर्ने बताए। प्रधानमन्त्री ओलीले समृद्धिमार्फत मुलुक बदल्ने महान् अभियानमा सहभागी हुन सबैलाई आह्वान गरे ।
उनले संविधानमा नै वाक स्वन्त्रताको व्यवस्था गरेपनि जथाभाबी बोल्न नमिल्ने तर्क गर्दै देश, जनता र समाजप्रति जिम्मेवार भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिनुभयो । संसद्मा व्यक्त गरिने अभिव्यक्तिमा सांसद स्वतन्त्र हुने भन्दै प्रधानमन्त्री ओलीले मुलक देश र कानूनले सांसदमाथि विश्वास गरेको र त्यहीअनुरुप सांसदहरु पनि जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले महिलाको हक अधिकारको रक्षाका लागि सरकार प्रतिबद्ध रहेको धारणा पनि राखे । कार्यक्रममा महिला संघले संघीय संसद्का महिला प्रतिनिधिलाई सम्मान गरेको थियो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासहितका महिला नेत्रीले महिला मुक्ति आन्दोलनमा योगमायाको योगदानका विषयमा चर्चा गरेको थिए ।