कात्तिक २८, काठमाडौं । विश्व मधुमेह दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ ।
अन्तर्राष्ट्रिय मधुमेह संघले सन् १९९१ को नोभेम्बर १४ देखि मधुमेहले स्वास्थ्यमा पार्ने असर बारेमा जानकारी दिन यो दिवस मनाउन थालेको हो ।
विशेष गरी गर्भवती महिलामा मधुमेहको जोखिम बढ्दै गएको छ ।
तौल घट्नु, थकान बढ्नु, मुख सुख्खा हुनु र धेरै पिसाव लाग्नु मधुमेहको मुख्य लक्षण भए पनि ५० प्रतिशत मानिसमा कुनै पनि प्रकारको लक्षण नदेखिने गरेको चिकित्सकहरु बताउँछन् ।
विश्वमा झन्डै ४५ करोड मानिस मधुमेह रोगबाट पीडित भएका विभिन्न अध्ययनले देखाएका छन् । मधुमेहका झन्डै ८० प्रतिशत विरामी विकासोन्मुख राष्ट्रका छन् ।
विकासोन्मुख देशका जनता गरीबबाट धनी हुँदै जाँदा हुने विलासी जीवन र खानपानका कारण नेपालजस्ता देशमा मधुमेहका रोगी निकै बढ्ने गरेका छन् ।
नेपालमा १० दशमलव ५ प्रतिशत पुरुष र ७ दशमलव ९ प्रतिशत महिलामा मधुमेह रहेको तथ्यांक छ ।
मधुमेहबाट बच्नका लागि शारिरीक व्यायाम गर्ने, धुम्रपान नगर्ने, आँखा र मृगौलाको परिक्षण गर्ने, सन्तुलित खाना खानको लागि चिकित्सकहरुले सल्लाह दिएका छन् ।
नेपालमा अहिले १० लाखभन्दा बढी मानिसमा मधुमेह भएको अनुमान गरिएको छ । अहिले ३० वर्षमाथिका युवायुवतीमा समेत मधुमेह देखिने गरेको छ ।
मधुमेह बिशेषज्ञ ज्योति भट्टराईले नेपालमा मधुमेहका बिरामीहरुको संख्या बढ्दै गएको भन्दै नियन्त्रणको लागि सरकारले ठोस योजना बनाउनुपर्ने बताए ।
मधुमेहको उपचार समयमै हुन नसके आँखाको नसामा असर पर्ने र आँखाको ज्योतिसमेत गुम्न सक्ने विशेषज्ञहरुको भनाइ छ ।