कार्तिक ४, काठमाडौं । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन ‘एक एनआरएन एक पर्यटक’ अभियान सुरु हुने भएको छ ।
गैर आवासिय नेपाली संघ(एनआरएन) र भ्रमण वर्ष २०२० को सचिवालयबीच त्यस्तो अभियान चलाउनेबारे सम्झौता भएको हो । सम्झौता अनुसार हरेक एनआरएनले एक जना विदेशी पर्यटकलाई नेपाल भ्रमण गराउन पहल गर्नेछन् । धेरै पर्यटक नेपाली भ्रमणमा पठाउने एनआरएनलाई नेपाल सरकारले सम्मान समेत गर्नेछ । एनआरएनहरुको सिफारिसमा नेपाल आउने पर्यटकहरुलाई विशेष छुटको व्यवस्था समेत हुनेछ ।
त्यसरी नेपाल भ्रमणमा पर्यटक पठाउनेहरुको विवरण एनआरएन र भ्रमण वर्ष सचिवालयले राख्नेछ । पर्यटन मन्त्री योगेश भट्टराईको उपस्थितीमा भ्रमण वर्ष सचिवलायका संयोजक सुरज वैद्य र एनआरएनका नव निर्वाचित अध्यक्ष कुमार पन्तले हस्ताक्षर गरेका हुन् ।
नेपाल भ्रमण वर्ष सचिवालय र एनआरएनबीच १७ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो । हाल करिब ३५ लाख भन्दा बढी एनआरएनहरु रहेको अनुमान गरिएको छ । यद्यपी ८० लाख नेपाली मुलका नागरिकहरु एनआरएन रहेको दावी एनआरएनले नै गर्दै आएको छ ।
एनआरएनहरुले ५० देशमा मिस एनआरएन प्रतियोगीता सञ्चालन गर्ने र त्यसको फाइनल नेपालमा आयोजना गर्नेछन् । त्यसका लागि आवश्यक पर्ने खर्च भने नेपालले नै व्यहोर्नेछ ।