पौष १७, काठमाण्डौँ । माघे सङ्क्रान्तिको अवसरमा नुवाकोटको तारुकामा मनाइने गोरुजुधाइका लागि मेला व्यवस्थापन समिति गठन भएको छ । गोरु पालक किसान भोजबहादुर भण्डारीको अध्यक्षतामा १२ सदस्यीय मेला सञ्चालन समिति गठन भएको समितिका सचिव केशव रिमालले जानकारी दिए । माघ १ गते हुने गोरुजुधाइको तयारीका लागि समिति गठन गरी काम अगाडि बढाइएको छ ।
समितिको कोषाध्यक्षमा मदन श्रेष्ठ, सदस्यहरूमा चन्दमान श्रेष्ठ, विष्णु श्रेष्ठ, कृष्णमान श्रेष्ठ, चूडाबहादुर बखेल, शिवराम अधिकारी, बदी प्रसाद ढकाल, लक्ष्मण प्रधान, राजकुमार श्रेष्ठ र अर्जुन भण्डारी रहेको समिति गठन गरिएको हो । पर्यटन वर्ष २०२० को सन्दर्भमा हुने ऐतिहासिक तथा परम्परागत मेला तारुकामा शदिऔँदेखि चल्दै आएको छ । यस वर्ष पनि मेलाका लागि स्थानीय किसान २० हल गोरु भिडाउने तयारीमा लागेका छन् ।
यसैगरि नुवाकोटकै बिदुर नगरपालिका वडा नम्बर १० स्थित बेत्रावति बजारमा पनि गोरु जुधाउने तयारी भईरहेको अष्टमान डँगोलले बताएका छन् । बिहिबार सम्म ३ हल गोरु जम्मा भएको र आगामी शनिबार समीती बनाएपछि अझ सशक्त तरिकाले अगाडी बढ्ने डंगोलले बताएका छन् ।