चार बस्तु र महँगा गाडी आयात खुला गर्ने निर्णय २४ घण्टा नबित्दै फिर्ता

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७८ कार्तिक १३, शनिबार (३ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

कार्तिक १३, काठकाडौँ । नेपाल राष्ट्र बैंकले मरिच, केराउ, छोकडा, सुपारी र महँगो मूल्यका सवारीसाधन आयात खुला गर्ने निर्णय फिर्ता लिएको छ । शुक्रबार बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ संशोधन गर्दै यी सामान आयातमा लागेको प्रतिबन्द तत्काललाई हटाइएको बैंकले २४ घण्टा नबित्दै निर्णय फिर्ता लिएको हो ।

केन्द्रीय बैंकले केराउको आयातमा लगाएको पूर्ण बन्देज हटाई चालु आर्थिक वर्षमा कूल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी आयात गर्न पाउने व्यवस्था गरेको थियो । यसैगरी सुपारी आयातमा लगाएको पूर्ण प्रतिबन्ध पनि हटाउँदै चालु आर्थिक वर्षभित्र २५ हजार मेट्रिक टन पैठारी गर्न सकिने जनाएको थियो ।

छोकडा पैठारीमा लगाएको पूर्ण बन्देज हटाउँदै ५० हजार मेट्रिक टन आयात गर्न सक्ने व्यवस्था गरेको थियो । ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने सवारीसाधन आयातमा लगाएको पूर्ण बन्देज पनि हटाएको थियो । सोहीअनुसार विदेशी मुद्रा सटही सुविधा दिन क वर्गका वाणिज्य बैंक र ख वर्गका विकास बैंकलाई निर्देश गरेको थियो । अब यी सामान आयातमा गत असोज १७ गतेको निर्णयअनुसार नै प्रतिबन्द कायम रहनेछ ।

उल्लेखित सामानको आयात बन्देज खुला गर्ने निर्णय फिर्ता लिनुको कारणबारे जिज्ञासा राख्दा राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले विदेशी विनिमय सञ्चितीमा थप चाप पर्ने देखिएकोले फिर्ता गर्नुपरेको बताए । उनले भने, ‘हिजो अलि हतारमा पत्रिपत्र जारी गरियो, यी सामानमा बन्देज खुलाउँदा विदेशी विनिमय सञ्चितीमा थप चाप सिर्जना गर्न सक्ने देखिएकाले निर्णय फिर्ता लिइएको हो ।’

ताजा अपडेट

खोजी गर्नुहोस