नरेन्द्र मोदीको बारेमा टिप्पणी गर्ने माल्दिभ्सका तीन जना मन्त्रीलाई निलम्बन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० पौष २४, मंगलबार (४ महिना अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

पुस २४,काठमाडौँ । माल्दिभ्सले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा टिप्पणी गर्ने तीन जना मन्त्रीलाई निलम्बन गरेको छ । उनीहरूले सामाजिक सञ्जाल पोस्टमा प्रतिक्रिया दिँदै मोदीलाई विदूषक, आतङ्ककारी र इजरालयको कठपुतली भएको बताएकाले निलम्बनमा परेका बीबीसी हिन्दीले जनाएको छ ।

तीनै जनाले सामाजिक सञ्जाल ुएक्सु मा मोदीको पोस्टमा प्रतिक्रिया लेख्दै अपमानजनक टिप्पणी गरेका थिए । निलम्बित हुनेमा मल्शा शरीफ, मरियम शिउना र अब्दुल्ला महजूम मजिद छन् । शिउनाले भारतलाई गाईको गोबरसँग पनि तुलना गरेकी थिइन् । धेरै चर्चा भएपछि ती मन्त्रीहरूले आफ्ना विवादित पोस्ट मेटेका छन् । राष्ट्रपति मोहम्मद मुइज्जूको कार्यालयका प्रवक्ताले भारत र भारतीय प्रधानमन्त्रीविरुद्ध टिप्पणी गर्ने सबै अधिकारीलाई तत्कालै लागू हुने गरी निलम्बन गरेको जानकारी दिनुभएको बीबीसीको खबरमा उल्लेख छ ।

मन्त्रीहरूको टिप्पणीले भारतीय सामाजिक सञ्जालमा खैलाबैला मच्चाएपछि माल्दिभ्स सरकारले मन्त्रीहरूलाई निलम्बन गरेको हो । मोदीबारे टिप्पणी गरिएको भोलिपल्ट भारतले माल्दिभ्सका उच्चायुक्तलाई स्पष्टीकरण दिन बोलाएको छ ।

गएको वर्ष सत्तामा आएका राष्ट्रपति मुइज्जूले भारतीय सैनिकलाई माल्दिभ्स छाड्न आग्रह गरेपछि भारत र माल्दिभ्सबीच तनाव उत्पन्न भएको थियो । माल्दिभ्सका मन्त्रीहरूको टिप्पणीपछि केही भारतीयहरूले माल्दिभ्समा बिदा मनाउन जाने आफ्नो योजना रद्द गर्ने घोषणा गरेका छन् । गएको वर्ष माल्दिभ्स जाने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय थिए । माल्दिभ्सका पूर्वराष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले तीन अधिकारीहरूले भारतविरुद्ध घृणायुक्त भाषा प्रयोग गरेको भन्दै कडा निन्दा गरेका छन् ।

चीनसँग नजिक भनिएका मोहम्मद मुइज्जू राष्ट्रपतिमा निर्वाचित भएदेखि नै भारत–माल्दिभ्स सम्बन्धमा समस्या देखिएको छ । यसअघि माल्दिभ्सका राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक भारत भ्रमण गर्ने गरेकामा मुइज्जूले टर्कीबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण शुरु गर्नुभएको थियो । चारत र चीन दुवैले रणनीतिक अवस्थिति भएका माल्दिभ्सका टापुहरूमा आफ्नो वर्चस्व कायम गर्ने प्रतिस्पर्धा गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस