वैशाख २६, काठमाडौं । अमेरिकाले भारत र पाकिस्तानलाई एकअर्काविरुद्ध आक्रमण गर्न बन्द गर्न आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा उक्त अपिल गरेकी हुन् ।
पत्रकारहरूको प्रश्नको जवाफमा ब्रुसले भनिन्, ‘अमेरिकाको सन्देश हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ भन्ने हो । मध्य पूर्वमा यो प्रमाणित भइसकेको छ कि युद्धबाट कुनै पनि समाधान निस्कँदैन ।’
उनले थप भनिन्, ‘युद्ध, सेना र हिंसा समाधान होइनन् । नयाँ विचार र कूटनीति नै पुस्तौँदेखि चल्दै आएको हिंसा र समस्या रोक्ने एक मात्र समाधान हो ।’
यस्तै भारत र पाकिस्तानबीच मध्यस्थताको प्रश्नमा ट्यामी ब्रुसले भनिन्, ‘जब सम्बन्धित देशका नेताहरू कूटनीतिक वा कुनै पनि स्तरमा कुरा गरिरहेका हुन्छन्, तब हामी यसको जानकारी साझा गर्दैनौँ । यो हाम्रो नीति हो ।’
यद्यपि, ट्यामी ब्रुसले भारत र पाकिस्तानबीच कुनै पनि प्रकारको मध्यस्थताको न त पुष्टि गरिन् न अस्वीकार गरिन् ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफसँग फोनमा कुराकानी गरेको जानकारी पनि दिइन् ।
यस्तै गएराति भारतको कश्मीर, पन्जाबलगायतका ११ स्थानमा गोलाबारी भएको थियो । भारतले बिहीबार राति पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेसनहरूमा आक्रमण गरेको तर त्यसलाई विफल पारिएको दाबी गरेको छ । भारतका अनुसार पाकिस्तानले हानेका सबै क्षेप्यास्त्र वायु रक्षा प्रणालीद्वारा सफलतापूर्वक रोकिएको र निष्क्रिय पारिएको हो ।
यता पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भने जम्मु कश्मीरमा भएको कुनै पनि आक्रमणको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । ख्वाजा आसिफले उक्त आक्रमणलाई अस्वीकार गर्दै पाकिस्तानले आक्रमण गरे सबैलाई थाहा हुने बताए ।