जेठ १२, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रही एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।
देशको उच्च-पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । राति पनि सोही अवस्था रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बंगालको खाडीको उत्तर-पश्चिमका केही क्षेत्र तथा दक्षिण-पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्रमा मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भू-भागतर्फ मनसुन अगाडि बढ्ने क्रममा रहेकोले नेपालमा मनसुन सरदर मितिभन्दा अगाडी आइपुग्ने देखिएको छ ।