शेयर धितो कर्जाको जोखिम भार घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ १२, सोमबार (१ दिन अघि)
  • ३९ पटक पढिएको
शेयर धितो कर्जाको जोखिम भार घट्यो

जेठ १२, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै शेयर कर्जाको जोखिम भार घटाएको छ । अब ५० लाखभन्दा माथिको सेयर धितो कर्जामा जोखिम भार सय प्रतिशत कायम भएको छ ।

यसअघि यस्तो कर्जामा १२५ प्रतिशत जोखिम भार लगाइएको थियो । ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा भने यसअघि नै जोखिम भार घटाएर १०० प्रतिशत बनाइएको थियो ।

अर्धवार्षिक समिक्षामार्फत राष्ट्रबैंकले आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखिएको जनाएको छ ।

नीतिगत दरलाई विद्यमान ५ प्रतिशत, तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंकदरलाई ६.५ प्रतिशतमा यथावत् राखिएको छ । विद्यमान अनिवार्य नगद मौज्दात र वैधानिक तरलतासम्बन्धी अनुपातलाई यथावत् राखिएको छ ।

वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय यस बैंकले खुला बजार कारोबार उपकरणहरूमा गरेको सुधारलाई मद्देनजर गरी बैंक तथा वित्तीय संस्थाहरूले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिनेछ ।

यस्तै राष्ट्र बैंकको अर्धवार्षिक समिक्षा अनुसार चालु आर्थिक वर्षको नौ महिनामा चालु खाता रु दुई खर्ब १० अर्ब २२ करोडले बचतमा रहेको छ भने शोधनान्तर रु तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ७९ अर्ब ८३ करोडले र शोधनान्तर रु तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमो थियो ।

चालु आवको नौ महिनामा कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भइ रु एक खर्ब ८८ अर्ब २० करोड पुगेको छभने वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई रु १३ खर्ब नौ अर्ब ५३ करोड पुगेको छ । समीक्षा अवधिमा व्यापार घाटा ६.४ प्रतिशतले बढेर रु ११ खर्ब २१ अर्ब ३४ करोड पुगेको छ ।

चालु आवको नौ महिनामा विप्रेषण आप्रवाह अमेरिकी डलरमा ७.३ प्रतिशतले वृद्धि भई रु ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर १५.२ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि करिब छ लाख ८ हजारले श्रम स्वीकृति लिएका छन् ।

चालु आवको नौ महिनासम्ममा औसत उपभोक्ता मुद्रास्फीति वाञ्छित सीमाभित्रै छ । यस अवधिमा औसत मुद्रास्फीति ४.५७ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ५.९२ प्रतिशत थियो । वार्षिक बिन्दुगत आधारमा गत चैतमा उपभोक्ता मुद्रास्फीति ३।३९ प्रतिशत छ । जुन विसं २०८० चैतमा ४.६१ प्रतिशत थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस