माघ १४, काठमाडौं । चर्चित गायिका मिलन नेवारले ‘मन रेशम’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छन्। शुक्रबार चौँथो एल्बम ‘मिलन यात्रा’ सार्वजनिक गरेकी मिलनले सो अवसरमा एल्बमसँगै आफ्नो पाँचौं एल्बममा समाविष्ट ‘मन रेशम’ बोलको गीत तथा भिडियो सार्वजनिक गरेकी हुन् ।
सार्वजनिक भिडियोमा गायिका मिलन नेवारसँगै गायक कमल खत्रीको स्वर रहेको छ। भिडियोमा अभिनय पनि दुबैको रहेको छ। गीत स्वयम मिलनले लेखेकी हुन भने संगीत गायक खत्रीले दिएका हुन्।
हरी हुमागाईको छायांकन रहेको भिडियोलाई सम्पादन गरेका हुन् भने निर्देशन राजेश पुमा राईको रहेको छ ।
शुक्रबार माननिय गृहमन्त्री राम बहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यतामा वरिष्ठ गायक दिप श्रेष्ठ, वरिष्ठ गीतकार राजेन्द्र थापा, संगीतकार शक्ति बल्लभ, गायिका मिलनका माता-पिता लगायत अन्य अतिथिहरुको हातबाट लोकार्पण गरिएको उक्त एल्बममा कुल सात गीत समावेश छन् जसमा योगेन्द्रमणी दाहालको एकल शब्द र राजु सिंहको एकल संगीत रहेको छ ।
यसैगरी सोही कार्यक्रममा मिलनले ‘सिङ्गिङ फर सोसाइटी’ भन्ने उदेश्य सहित ‘मिलन च्यारिटी फाउण्डेसन’को सुरुवात समेत गरेकी छिन् । आफ्नो साङ्गितिक प्रस्तुती र सामाग्रीबाट आउने रकमको केही अंश समाज सेवामा खर्चने उदेश्य उनको रहेको छ ।
सोही अनुसार प्रारम्भिक चरणमा मिलनले आफ्नो सहायता ‘शहिद स्मृति आवासिय माध्यमिक विद्यालय’ इटहरीमा केन्द्रित गर्ने छिन् ।
गृहमन्त्री थापाले गायिका मिलनलाई शुभकामना दिँदै आफू पनि नेपाली गीत-संगीत पौरखी भएको बताएका थिए । उनले नेपाली संगीतको क्षेत्रमा मिलनले महत्वपूर्ण योगदानको दिएको भन्दै धन्यवाद समेत दिए ।
गृहमन्त्री थापाले नेपाली कला र संस्कृतीको क्षेत्रमा प्राप्त उपलब्धीको रक्षा गर्दै अगाडि बढ्नु पर्ने बताएका थिए । कला र संकृतीको क्षेत्रमा निश्चित मापदण्ड बनाएर सांकृतिक सभ्यतालाई अर्को उचाईमा पुर्याउनु पर्ने उनको भनाई थियो । त्यसका लागि सरकारको तर्फबाट नीति नियम तर्जुमा गर्न लागिएको उनले बताए ।