हेटौंडा सिमेन्टको उत्पादन फेरी बन्द

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख २७, शनिबार (६ घण्टा अघि)
  • ४८ पटक पढिएको
हेटौंडा सिमेन्टको उत्पादन फेरी बन्द

वैशाख २७, काठमाडौं । हेटौंडा सिमेन्ट उद्योग फेरी बन्द भएको छ । एक महिनाअघिदेखि सञ्चालनमा ल्याइएको उद्योगको उपकरण बिग्रिदा शुक्रबारदेखि पुन: उत्पादन बन्द भएको हो ।

आर्थिक सङ्कटका कारण कच्चापदार्थ र अन्य उपकरण खरिद गर्न नसकेको उद्योगमा विगत छ महिनादेखि सिमेन्ट उत्पादन बन्द थियो । चार हप्ता अघि पुनः उद्योग व्यवस्थापनले उत्पादन शुरु गरेकोमा हाल आएर सो उद्योगको किलमिलको केही उपकरण मर्मत गर्नुपर्ने र केही उपकारण खरिद गरी जडान गर्नुपर्ने भएपछि एक हप्तापछि उत्पादन गर्ने गरी बन्द भएको उद्योगका निमित्त महाप्रबन्धक विनयकुमार कर्णले जानकारी दिए ।

हाल सो उद्योगबाट उत्पादित सिमेन्ट बोरामा प्याकिङ भइरहेको निमित्त महाप्रबन्धक कर्णले बताए । तत्कालीन सरकारले यस उद्योग २०३३ मा हेटौँडाको लामसुरेमास्थापना गरेको थियो । उद्योगले २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिक सिमेन्ट उत्पादन शुरु गरेको थियो ।

सरकारले उद्योग निर्माणका लागि एक अर्ब ५० करोड लगानी गरेको थियो । सो उद्योगले साविकमा सिमेन्ट उत्पादन दैनिक १८ हजार बोरा गरेको भए पनि विभिन्न उपकरण जीर्ण भएका कारण हाल दैनिक १२ हजार बोरा मात्र उत्पादन हुने गरेको उद्योग व्यवस्थापनले जनाएको छ ।

उक्त उद्योगमा अहिले प्रशासन, लेखा भण्डारण, प्राविधिक र मजदुर कर्माचारी गरी करिब दुई सय जनाले स्थायी रोजगारीको अवसर पाइरहेका छन् । उद्योगले मकवानपुरको भैँसे, ओखरेखानी र धादिङको जोगिमाराबाट दैनिक चुनढुंगा ढुवानी गरी ल्याउने गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस