वैशाख २८, काठमाडौं । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा सहयोगस्वरुप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ ।
आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सवारीसाधन हस्तान्तरण गरेका हुन् । नेपाल—भारत सहयोग कार्यक्रमअन्तर्गत ती सवारीसाधन उपलब्ध गराइएका हुन् ।
त्यस अवसरमा मन्त्री डा राणाले सगरमाथा संवादका लागि उपलब्ध गराइएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद ज्ञापन गरेकी छन् । उनले जलवायु परिवर्तन नेपालको मात्र नभई यस क्षेत्रकै साझा चुनौतीका रूपमा रहेकाले यसको समाधानका लागि आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेको बताएकी छन् ।
संवादले जलवायु परिवर्तनसम्बन्धी यस क्षेत्रका साझा समस्याको उजागर गर्दै तिनको समाधानका उपाय खोजीका लागिसमेत सामूहिक प्रयत्नको ‘मोडल’ तय गर्ने जानकारी दिँदै उनले यसमा भारत सरकारको सहयोग उल्लेखनीय रहेको बताइन् । मन्त्री डा राणाले संवादको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र अब नेपाल सरकार विदेशी उच्चपदस्थ व्यक्तित्व तथा पाहुनाको स्वागतको प्रतीक्षामा रहेको बताएकी छन् ।
नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले भारत सरकारले नेपालको आर्थिक, सामाजिकलगायत क्षेत्रमा पु¥याउँदै आएको सहयोगको चर्चा गर्दै सगरमाथा संवादका लागि सवारीसाधन उपलब्ध गराउन पाएकामा खुसी व्यक्त गरे । उनले जलवायु परिवर्तनका साझा चुनौती समाधानमा अवलम्बन गरिने उपायमा भारत सरकार नेपालको साथमा रहेको बताएका छन् ।