वैशाख २८, काठमाडौं । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिट आइतबार सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।
गत वैशाख ७ देखि १० गतेसम्म दिनहूँ सुनुवाइ भैरहेको संवैधानिक नियुक्तिविरुद्धको रिट प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको विदेश भ्रमणले स्थगित भएको थियो ।
रिटमाथिको सुनुवाइ आजदेखि प्रधानन्यायाधीश राउतसहित न्यायाधीशहरु सपना प्रधानमल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा सुरु भएको हो ।
५२ संवैधानिक पदाधिकारीका कानुन व्यवसायीहरूले अहिले निरन्तर बहस गरिरहेका छन् । पदाधिकारीहरूका कानुन व्यवसायीहरूले थप एक दिन बहस गर्ने र त्यसपछि रिट निवेदकहरूको तर्फबाट जवाफी बहस गर्ने तयारी छ ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साल मंसिर ३० गते संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरी ५२ जनालाई संवैधानिक निकायमा नियुक्त गरेको थियो । उक्त नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालसहित १५ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।