आठ जटिल रोगका बिरामीले स्वास्थ्य बिमामार्फत २ लाखसम्मको उपचार सुविधा पाउने

आठ जटिल रोगका बिरामीले स्वास्थ्य बिमामार्फत २ लाखसम्मको उपचार सुविधा पाउने

असार २५, काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध नागरिकले अब आठ जटिल रोगमा २ लाखसम्मको उपचार सुविधा पाउने भएका छन् । स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले हाल पाइरहेको स्वास्थ्य बीमामा १ लाख थप गरेर २ लाख बनाइने घोषणा गरेका छन् ।

स्वास्थ्यमन्त्री पौडेलका अनुसार क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्ने छन् ।आगामी साउन १ गतेदेखि यो व्यवस्था लागू गरिने उनले बताए ।

मन्त्री पौडेलले बुधबार बिहान आफ्नो सामाजिक सञ्जालमार्फत स्वास्थ्य बीमाको रकम पहिलेभन्दा दोब्बरले बढाएको बताएका हुन् । ‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट आठ प्रकारका बिरामीले हाम्रो पूर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत दुई लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौँ’, उनले लेखेका छन् ।

मन्त्री पौडेलले यसअघि आठ जटिल रोगका बिरामीलाई राहत हुने हिसाबले रकम वृद्धि गर्ने घोषणा गरेका थिए । सोहीअनुसार मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई पत्राचार गरेको थियो ।

मंगलबार राति बसेको बोर्ड बैठकले आठ जटिल रोगीलाई दुई लाख उपचार खर्च दिने निर्णय गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस