दाउन्नेमा सडक भासिदा बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध

कालीगण्डकी करिडोर पनि अवरुद्ध
  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ २५, बुधबार (२३ घण्टा अघि)
  • ५२ पटक पढिएको
दाउन्नेमा सडक भासिदा बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध

असार २५, बुटवल । महेन्द्रराजमार्ग अन्तर्गत दाउन्नेको खुर्सानी खोला नजिक सडक भासिदा बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको हो ।

सडक भासिएको स्थानमा लु १ ख ५८२७ नम्बरको ट्रक फसेको पर्साका डिएसपी वीरदत्त पन्तले बताए । उनका अनुसार राजमार्ग भएर पूर्वतर्फ जाने सवारी साधनहरु बर्दघाटको टिसिएनचोकमा र पूर्वबाट आएका सवारी साधनहरु दुम्किबासतर्फ रोकिएका छन् ।

सडक खुलाउने प्रयास भएपनि वर्षाका कारण केही समय लाग्ने डीएसपी पन्तले बताए । नारायण्गढ–बुटवल सडकखण्ड अन्तर्गत पर्ने १४ किलोमिटर दाउन्ने खण्डमा सडक स्तरोन्नतिको काम भइरहेको छ। त्यसकारण ठाउँ ठाउँमा हिलो हुने, सडक भासिने समस्या देखिँदै आएको छ ।

यता पहिरोका कारण कालीगण्डकी करिडोर पनि अवरुद्ध भएको छ । मंगलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । पहिरोले केही स्थानमा सडक भासिएको छ ।

वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन कठिन भएको बताउँदै उनले पानी रोकिएपछि पहिरो पन्छाउने जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस