असार २५, काठमाडौं । रसुवामा सोमबार राति आएको बाढीको कारण तिब्बती क्षेत्रको एक सुप्राग्लेसियल ताल विस्फोट भएको प्रारम्भिक निष्कर्ष सार्वजनिक भएको छ । भू–उपग्रह तस्वीरहरूको विश्लेषणमा आधारित अध्ययन अनुसार, तिब्बती क्षेत्रमा रहेको सुप्राग्लेसियल ताल विस्फोटका कारण बाढी आएको हुन सक्ने विभिन्न विज्ञ र संस्थाहरूले जनाएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, बाढीको सम्भावित कारण हिमताल विस्फोट नै भएको ठानिएको भए पनि कुन ताल विस्फोट भएको हो भन्नेबारे अध्ययनकै क्रममा रहेको जनाएको छ । स्वतन्त्र जलवायु विज्ञहरूको टोलीले पनि उक्त निष्कर्षलाई पुष्टि गरेको छ ।
अध्ययनमा संलग्न जलवायुविद् डा. धर्मराज उप्रेतीका अनुसार, स्याटेलाइट तस्वीरको प्रारम्भिक विश्लेषणबाट बाढीको स्रोत सुप्राग्लेसियल ताल विस्फोट भएको देखिन्छ । उनका अनुसार सो क्षेत्रमा भारी वर्षा नभएको पुष्टि भए पनि ताल विस्फोटपछि बाढीका स्पष्ट तहगत संकेतहरू तस्वीरमा देखिएको छ ।
डा. उप्रेतीले यो ताल धेरै पुरानो नभएको र आसपासका अन्य तालहरूको अवस्थामाथि समेत सूक्ष्म विश्लेषण भइरहेको जानकारी दिए ।