बैशाख २९,काठमाडौँ । अर्थतन्त्रका वाह्य क्षेत्र बलियो अवस्थामा रहेको देखिएको छ । आन्तरिक क्षेत्र लयमा फर्कदै गरेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले संकेत गरेको छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) सम्मको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । जस अनुसार विदेशी मुद्रा सञ्चितिदेखि विप्रेषण आप्रवाहसम्म सन्तोषजनक वृद्धि देखिएको छ ।
यसबीच सेयर धितो कर्जा र आयात कर्जासमेत वृद्धि भएको देखिएको छ । वस्तु आयात समेत उकालो लाग्दै गर्दा यसले लगानीकर्तामा आत्मविश्वास फर्कन लागेको संकेत समेत गरेको देखिन्छ ।
सरकारले लक्ष्य अनुसार राजस्व उठाउन नसके पनि संकलन गत आवको तुलनामा बढेको देखिएको छ । निर्यातमा उच्च वृद्धि देखिएको छ । पर्यटक आगमन वृद्धि हुँदा पनि सेवा खाता भने घाटामा देखिन्छ । यसो हुनुमा शिक्षातर्फको व्यय र भ्रमण व्ययमा समेत नेपालीले उल्लेख्य रकम विदेश लगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब, १४.२ महिनाको आयात धान्न पर्याप्त
नेपालमा अहिले १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी मुद्रा सञ्चिति रहेको देखिएको छ । राष्ट्र बैंकका अनुसार चालु आव ९ महिनासम्म विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । यो गत असार मसान्तयता १८.९ प्रतिशतले बढेको हो ।
असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर विदेशी विनिमय सञ्चिति रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति असार २०८१ सम्म १५ अर्ब २७ करोड रहेकोमा चैत मसान्तसम्म १५.४ प्रतिशतले बढेर १७ अर्ब ६३ करोड पुगेको छ । यो सञ्चितिले १७.१ महिनाको वस्तु र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिएको छ । चैत मसान्त २०८१ सम्म विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ उत्पादन (जीडीपी) को ३९.७ प्रतिशत हाराहारी हो ।
शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब बचतमा
चालु आव ९ महिनासम्म शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा छ । मुलुकबाट बाहिरिने रकमको तुलनामा भित्रिने रकम धेरै हुँदा शोधनान्तर स्थिति बचतमा जान्छ । अघिल्लो आव सोही अवधिमा शोधनान्तर स्थित ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति २ अर्ब ५५ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७५ करोडले बचतमा थियो ।
चालु खाता २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा
यस वर्ष ९ महिनामा चालु खाता २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको छ । गत आव सोही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा १ अर्ब ५५ करोडले बचतमा छ । अघिल्लो वर्ष १ खर्ब ३५ करोड डलरले बचतमा रहेको तथ्यांक छ ।
यस अवधिमा खुद पूँजीगत ट्रान्स्फर ७ अर्ब ७१ करोड छ । अघिल्लो वर्ष यस्तो खुद ट्रान्स्फर ४ अर्ब ७८ करोड रहेको थियो । यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ९६ करोड भित्रिएको छ । अघिल्लो वर्ष यस्तो लगानी ६ अर्ब ४९ करोड थियो ।
शिक्षामा विदेशियो १ खर्बमाथि वैदेशिक मुद्रा
चालु आव ९ महिनासम्म नेपाली विद्यार्थीले १ खर्ब ३ अर्ब ८४ करोड रुपैयाँ विदेश लगेका छन् । चालु आव चैत मसान्तसम्मको वित्तीय तथा आर्थिक स्थिति प्रतिवेदन अनुसार गत वर्ष सोही अवधिमा भने ९५ अर्ब ८५ करोड रुपैयाँ विद्यार्थीसँगै बाहिरिएको थियो ।
त्यस्तै चैतसम्म सेवा खाता अन्तर्गत भ्रमण व्यय १ खर्ब ७० अर्ब ३९ करोड पुगेको छ । जुन गत आव सोही अवधिको तुलनामा १९ प्रतिशत धेरै हो । यसमध्ये शिक्षाको हिस्सा अधिक छ । नेपालबाट विदेश घुम्न जानेले ९ महिना अवधिमा ६६ अर्ब ५५ करोड विदेशी मुद्रा खर्च गरेका छन् ।
उता, नेपाल घुम्न आउने विदेशी नागरिकबाट नेपालले ६६ अर्ब ५४ करोड आम्दानी गरेको छ । तथ्यांक अनुसार भ्रमण आयको तुलनामा व्यय माथि देखिन्छ र जसले गर्दा खुद सेवा आय ८१ अर्ब ५४ करोड घाटामा छ ।
विप्रेषण निरन्तर वृद्धि
नेपालमा साउनदेखि चैतसम्म मासिक १ खर्ब ३२ अर्ब ३६ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।
बैंकका अनुसार रेमिट्यान्स १० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष सोही अवधीमा १७।२ प्रतिशत बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स ८ अर्ब ७४ करोड भित्रिएको हो । जुन ७।३ प्रतिशतले बढेको हो ।
चालु आव ९ महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५८ हजार २२ छ । यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने २ लाख ४९ हजार ६ सय ५२ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
कर्जा लगानी विस्तार
बैंक तथा वित्तीय संस्थाबाट हुने लगानी ९ महिनामा विस्तार भएको देखिएको छ । राष्ट्र बैंकका अनुसार ९ महिनामा ३ खर्ब ६१ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.१ प्रतिशत धेरै हो ।
बैंक तथा वित्तीय संस्थाबाट वार्षिक बिन्दुगत आधारमा चैत मसान्तसम्म निजी क्षेत्रमा भएको कर्जा प्रवाह ८।३ प्रतिशतले बढेको देखिएको छ । चैत २०८० मा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३ प्रतिशत रहेकोमा यस वर्ष चैतमा ३.०६ प्रतिशत रहेको छ ।
चैत मसान्तसम्म धितोपत्र बजार पूँजीकरण ४४ खर्ब २५ अर्ब पुगेको छ । गत आव चैतसम्म ३२ अर्ब १२ अर्ब रुपैयाँ थियो । यस अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ३ खर्ब ६८ अर्ब रुपैयाँ देखिन्छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ५.७ प्रतिशत धेरै हो । नेपाल सरकारको खर्च बढेको र राजस्व परिचालन समेत वृद्धि भएको देखिएको छ ।