आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति, आन्दोलन स्थगित

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ २५, बुधबार (२३ घण्टा अघि)
  • ४३ पटक पढिएको
आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति, आन्दोलन स्थगित

असार २५, काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएको छ । सरकार र संघबीच मंगलबार साँझ सहमति भएसँगै आन्दोलनरत चिकित्सकहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् ।

स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच भएको छलफलपछि सहमति भएको हो ।

सरकारले आन्दोलनरत नेपाल चिकित्सक संघ तथा विभिन्न संघ संस्था एवं सरोकारवालाहरुका मागहरुको यथोचित सम्बोधन गर्न विद्यमान कानूनी एवं नीतिगत व्यवस्थामा आवश्यक संशोधन लगायतका विषयमा ७ दिन भित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने सहमति समेत भएको छ ।

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले सोमबारदेखि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेर विरोधमा उत्रिएका थिए ।।

केही साताअघि बिरामीको उपचारमा लापरवाही भएको भन्दै उपभोक्ता अदालतले ओम अस्पतालले ५० लाख ७० हजार रुपैयाँ, हिमाल अस्पताल र उपचारमा संलग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्रान्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस