गभर्नरमा अयोग्य विश्व पौडेललाई ओली-देउवाको साथ, सिफारिस समितिबाट राजीनामा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख २९, सोमबार (७ घण्टा अघि)
  • ७३ पटक पढिएको
गभर्नरमा अयोग्य विश्व पौडेललाई ओली-देउवाको साथ, सिफारिस समितिबाट राजीनामा

वैशाख २९, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेललाई अगाडी सारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेर बहादुर देउवाबीच सहमति भएसँगै कांग्रेसले पौडेललाई गभर्नर बनाउन सिफारिस गरेको हो ।

गभर्नर बन्ने भएपछि डा. पौडेलले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका छन् । उनले आइतबार सिफारिस समितिका अध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् ।

यसअघि सत्तारुढ दल कांग्रेस–एमालेबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो । भट्टले पनि कार्यकारी निर्देशकबाट वैशाख ५ गते राजीनामा दिएका थिए । तर, भट्टको राजीनामा डेपुटी गभर्नर निलम दुंगानाले स्वीकृत नगरेपछि कांग्रेसले पौडेललाई गभर्नरको नयाँ उम्मेदवारको रुपमा अघि सारेको छ ।

नयाँ गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनाएको थियो । उक्त समितिमा विज्ञको तर्फबाट पौडेल सदस्य बनेका थिए ।

सिफारिस समितिका सदस्य रहेका विश्व पौडेललाई गभर्नर बनाउन कांग्रेसले आन्तरिक छलफल थालेको छ । पौडेललाई गभर्नर बन्नका लागि उनले समितिको सदस्यबाट राजीनामा दिनुपर्ने हुन्छ । जसका लागि उनले सदस्यबाट राजीनामा दिएका हुन् ।

उनको राजीनामासंगै गभर्नर सिफारिस समिति सुरूवातकै चरणमा पुगेको छ । समितिका अर्का सदस्य तत्कालीन गभर्नर महाप्रसाद अधिकारीविरूद्व पनि सर्वोच्चमा रिट दर्ता भएको छ । उनीविरुद्धको रिट वैशाख ३० मा पेसी छ ।

सरकारले नयाँ सिफारिस समिति गठन गर्ने तयारी समेत थालिसकेको छ । नेपाल राष्ट्र बैंकको गभर्नर पद गएको चैत्र २४ गतेदेखि रिक्त रहेको छ ।

यता डा. पौडेल गभर्नर बन्न कानुनी रुपमा अयोग्य देखिन्छन् । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ ले कुनै राजनीतिक दलमा सदस्य नभएको व्यक्ति मात्रै गभर्नर बन्नसक्ने भनेर स्पष्ट उल्लेख गरेको छ ।

नयाँ गभर्नरको लागि अघि सारिएका डा. पौडेल २०७९ मा भएको आम निर्वाचनमा चितवन १ बाट कांग्रेसबाट उम्मेदवारी दिएर रास्वपाका हरी ढकालसँग पराजित भएका व्यक्ति हुन् ।

कानूनतः कुनै पार्टीबाट चुनाव लड्नका लागि सो पार्टीको सदस्य हुनु अनिवार्य छैन । तर कांग्रेस स्रोतका अनुसार पार्टीको क्रियाशील सदस्यका हैसियतमा स्थानीय कमिटीले उनलाई उम्मेदवारमा सिफारिस गरेको थियो । पौडेलले ७–८ वर्ष अगाडि नै चितवनको रत्ननगरबाट कांग्रेसको क्रियाशील सदस्यता लिएको र नियमित नविकरण गराइरहेको विश्वस्त स्रोतले बतायो ।

गर्भनर बन्न मैदानमा उत्रिइसकेपछि पौडेलले आफ्नो क्रियाशील सदस्यता खारेज भइसकेको वा आफूले त्यागिसकेको अथवा लिँदै नलिएको दावी गर्ने सम्भावना छ । पौडेल आजका दिनसम्म पनि खुलेरै कांग्रेसमा छन् । उनी कांग्रेसको कोटाबाट नै नयाँ गभर्नर सिफारिस समितिका सदस्य बनेका हुन् ।

कानूनले ‘पार्टीको सदस्य वा पदाधिकारी नरहेको’ भन्नुको आशय पार्टीमा आस्थावान नरहेको भनेर बुझ्नुपर्ने कानूनविदहरुको भनाइ छ । एउटा पार्टीबाट चुनाव लडिसकेका व्यक्ति स्वतः अयोग्य हुनुपर्ने उनीहरु बताउँछन् ।

संविधानविद भीमार्जुन आचार्यले भने, ‘यदि कांग्रेसको क्रियाशील सदस्यता लिनुभएको अवस्था हो भने उहाँलाई गभर्नर बनाइनु सीधै कानून विपरित हुन्छ । यदि त्यो होइन भने पनि कानूनको मर्म र भावना विपरित हुन जान्छ । एउटा पार्टीप्रति आस्थावान वा सो पार्टीबाट कुनै पनि लाभ प्राप्त गरेको व्यक्ति त्यस पार्टीप्रति निरन्तर वफादार हुने भएकाले निस्पक्ष तवरबाट भूमिका निर्वाह गर्न सक्दैन भन्ने कानूनको मर्म हो । पौडेललाई गभर्नर बनाइएमा यो मर्ममा आघात पुग्ने छ र अदालति निरुपणको विषय बन्न सक्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस