नेकपा संगठन एकता : जनवर्गीय संगठनका संयोजक के भन्छन ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र १०, मंगलबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

भाद्र १०,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जनवर्गीय संगठनमा नेतृत्व आएको तीन महिना बितिसक्दा पनि अधिकांश संगठनले पूर्णता पाएका छैनन् । बरु विवाद देखिएको छ ।

तत्कालिन दुवै संगठनबीच भागबन्डा नमिल्दा यूवा, विद्यार्थी, महिला संगठनको एकीकरण प्रक्रिया अल्झिएको छ । यस्तै सङ्ख्यामा विवाद नभएपनि प्रेस संगठनले पनि पूर्णता पाएको छैन । संगठनका संयोजक र सहसंयोजक पार्टीले टुङ्ग्याउनु अघिनै एकीकरणका लागि बनेका कार्यदलले संगठनको सङ्ख्या र नामावली पार्टीलाई सिफारिस गरिसकेका थिए । तर, कार्यदलले सिफारिस गरेको सङ्ख्या पार्टीले घटाएपछि एकीकरण टुङ्ग्याउन नेतृत्वलाई कठिन भएको छ ।

स्रोतका अनुसार यी (यूवा, विद्यार्थी र महिला) संगठनमा साविकका सङ्गठनबीच सङ्ख्यामा भागबन्डा नमिल्दा एकीकरण प्रक्रिया झनै पेचिलो बनेको छ । दुवै पक्षले आफ्ना अडान छाडेका छैनन् । यद्यपि भदौ १ गते बसेको पार्टीको सचिवालय बैठकले सबै जबजका इन्चार्ज र सहइन्चार्ज तोकेपछि सम्बन्धित संगठनलाई पूर्णता दिने गरी छलफल भने सुरु भएका छन् । यस विषयमा जनवर्गिय संगठनका संयोजक यस्तो भन्छन –

रमेश पौडेल, (सहसंयोजक, राष्ट्रिय युवा संघ नेपाल)

हाम्रोमा कमिटी बनाउने बाहेक संगठनको नाम, झण्डा, विधान, स्थापना मिति लगाएत धेरै कुरा टुुंगिएको छ । तर, समस्या साविकको वाइसिएलसँग २१५, साविकको यूवा संघसँग २५७ गरी जम्मा ४७२ जना साथीहरु हुनुहुन्छ । पार्टीले २५१ जनाको केन्द्रीय कमिटी बनाउने निर्णय गर्र्यो । पार्टीको निर्णयअनुसार कमिटी बनाउँदा कसरी यो सङ्ख्या घटाउने भन्ने बारेमा समस्या भैरहेको छ । तर, अहिले इन्चार्ज र सहइन्चार्ज पनि आउनुभएको छ । अब छलफल प्रक्रिया अगाडि बढाउँछौँ । र, एकता प्रक्रिया छिट्टै टुङ्ग्याउने प्रयत्न गर्छौँ ।

रञ्जित तामाङ्, (सहसंयोजक, विद्यार्थी)

केही दिन अघिमात्रै पार्टीले संगठनको इन्चार्ज र सहइन्चार्ज खटाएको छ । संगठनलाई पूर्णता दिन आजदेखि हामीले औपचारिक छलफल सुरु गरेका छौँ । एकीकरण टुंगिइसक्थ्यो । तर, सङ्ख्यामा समस्या हुँदा लम्बिएको हो । एकताका लागि पहिला चार सदस्यीय कार्यदल बनेको थियो । त्यहि कार्यदलले विधान, राजनीतिक शैक्षिक प्रतिवेदन, झण्डा र संगठनको नाम टुङ्ग्याइसकेका छौं ।

कार्यदलले केन्द्रीय कमिटीमा ४९९ जना साथीहरुको नामावली पनि पार्टीलाई सिफारिस गरेको थियो । तर, पछि पार्टीले २५१ सदस्यीय कमिटी हुने भन्ने निर्णय गर्र्यो । त्यसले हामीलाई ४९९ सदस्यबाट नाम मिलाउन कठिन भएको छ ।

अब हामी यस्ता व्यवहारिक जटिलताहरुका बिषयमा पार्टीका नेताहरुलाई राख्छौँ । हामी सहमति खोज्ने प्रयत्न गर्छौ । र एकता प्रक्रिया जतिसक्दो छिटो टुङ्ग्याउँछौ ।

अमृता घर्ती, (संयोजक, महिला संगठन)

एकीकरणका लागि पहिला बनेको कार्यदलले ४७५ सदस्यीय कमिटी बनाउने भन्दै त्यसैअनुसार नामावली सिफारिस गरेको थियो । तर, पछि पार्टीले २५१ सदस्यीय केन्द्रीय कमिटी रहने निर्णय गर्र्यो । ४७५ सङ्ख्या बाट २५१ जना मात्रै छनोट गर्न धेरै कठिन छ ।

साविकका दुई कमिटीका महिला साथिहरुलाई संगठनमा अटाउनुपर्ने दवाव छ । तर, पार्टी केन्द्रीय कमिटीको सङ्ख्या घटाइदिएपछि हामीले सङ्ख्या बढाउनु पर्र्यो भनेर फेरि पार्टीलाई अनुरोध गरेका छाँै । अहिलेसम्म कुनै निर्णय आएको छैन । हामी जे कुरामा अल्झेका छौँ, त्यो निर्णय पार्टीले गरेको छैन । अरु निर्णय किस्ता किस्तामा गर्छ । संङ्ख्या अलिकति बढ्छ कि भनेर पर्खिदाँ एकीकरणनै ढिला हुन गयो । तर, अब छिट्टै हामी निर्णय गरेर कमिटीलाई पूर्णता दिन्छौं ।

महेश्वर दाहाल, (संयोजक, प्रेस संगठन नेपाल)

हामी एकीकरणलाई पूर्णता दिन दिनहुँ छलफलमै छौँ । सङ्ख्यालाई लिएर हाम्रोमा कुनै समस्या छैन । पहिला कार्यदलले सिफारिस सङ्ख्या हुनेछ । तर, केही नामावली भने हेरफेर गर्नुपर्ने भएकाले ढिला टुङ्ग्याउन ढिला भएको हो । अहिले हामी प्रदेश र जिल्ला कमिटी कसरी बनाउने भन्नेबारेमा पनि छलफल गरिरहेका छौँ । तर, केन्द्रीय कमिटीले लगभग पूर्णता पाइसकेको छ । अब छिट्टै निर्णय पनि गर्छौ ।

ताजा अपडेट

खोजी गर्नुहोस