साउन २३,काठमाडौँ । एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हेलिकप्टर दुर्घटनाको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।
नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा गठन गरिएको छानबिन समितिको सदस्यहरूमा एरोनोटिकल इन्जिनियरहरू विष्णु बस्नेत र तनुजा पोखरेल रहेका सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । समितिलाई ३० दिनको कार्यादेश दिइएको छ ।
आज दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा रहेका पाँच जनाकै ज्यान गएको थियो ।