कांग्रेसको चेतावनी : सभामुख महराको हुकुमी शैली नसच्चिएसम्म सदन अवरुद्ध गर्छौं !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष २२, आईतबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पुस २२,काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको हुकुमी शैली नसच्चिएसम्म सदन अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

सभामुख महराले हुकुमी शैलीमा सदन चलाउन खोजेको भन्दै कांग्रेसले आक्रोश व्यक्त गरेको हो । आइतबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनमाथि प्रश्न गर्न नदिएपछि कांग्रेसले सभामुख हुकुमी शैलीमा चल्न खोजेको आरोप लगाएको हो ।

कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री ओलीलाई सदनमा सम्बोधन गर्न दिने तर विपक्षलाई प्रश्न गर्न नदिने सभामुख कृष्णबहादुर महराको एक पक्षीय व्यवहार नसच्चिएसम्म सदनको कारबाही अघि बढ्न नदिने चेतावनी दिए ।

प्रधानमन्त्री ओलीको वक्तव्य सकिएलगत्तै नेपाली कांग्रेसका सांसदहरुले प्रश्न गर्न अनुमति दिन माग गरेका थिए । तर सभामुख महराले अनुमति नदिएको भन्दै कांग्रेस सांसदहरुले रोष्ट्रम अघि उभिएर नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

सदन स्थगित भएपछि संघीय संसद भवन परिसरमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस सांसद थापाले सभामुख महराले हुकुमी शैलीमा सदन चलाउन खोजेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले तथ्यांक नै तोडमोड हुने गरी वक्तव्य दिएको उल्लेख गर्दै उहाँले सो सम्बन्धमा प्रश्न गर्न खोज्दा सभामुखले सरकारको बचाउ गरेको सांसद थापाले आरोप पनि लगाए।

सांसद थापाले सभामुखले कुनै एक पार्टीको पक्ष लिएर प्रश्नका लागि अनुमति दिन नसक्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति पनि जनाए । उनले सभामुख महरालाई कुनै एक पार्टीको नभई सभामुखको भूमिकामा रहन पनि आग्रह गरे।

सभामुखले हुकुमी शैलीमा सदनमा प्रधानमन्त्रीको वक्तव्यमाथि प्रश्न गर्न नदिएको सांसद थापाको आरोप छ ।

ताजा अपडेट

खोजी गर्नुहोस